Harsamaya
रौतहटमा विभिन्न स्थानमा कलश यात्रा निकालियो

रौतहट - नेपालीको महान चाड बडादसैँ आजदेखि सुरु भएको छ । यस अवसरमा  रौतहटको विभिन्न स्थानमा कलश शोभा यात्रा निकालिएको छ ।

शिव नगर चोकस्थित रहेको माता दुर्गा भगवतीको मन्दिरमा कलश स्थापना गरिएको हो । श्रद्धालु भक्तजनहरूले बिहानै दुर्गा मन्दिरमा पूजापाठ गरेपछि हजारौँको सङ्ख्यामा महिला, युवती, कुमारी कन्याहरूद्वारा कलश यात्रा निकालिएको शिव नगरका युवा करण मिश्रले बताए ।

नवदुर्गाको जय गानसाथ स्थानीय नदीबाट पवित्र जलपात्र बोकेर सुरु भएको कुमारी कन्याको विशाल कलश यात्राले बजार क्षेत्र परिक्रमा गरेको उनले बताए ।

अहिले शिव नगर सहित जिल्लाका विभिन्न स्थानमा भजन कीर्तन र बाजागाजासाथ भक्तिमय वातावरण बनेको उनको भनाइ छ ।

कलश स्थापनासँगै विधिवत् रूपमा नवरात्र सुरुवात हुने धार्मिक मान्यता छ । यता गरुडा नगरपालिका–५ स्थित दुर्गा पूजा समितिले माताको मन्दिरको प्राङ्गणबाट बाजागाजासहित निकालिएको कलश यात्राले गरुडा नगरपालिकाका विभिन्न भागको परिक्रमा गर्दै साँझ नदीमा कलशबाट जल भरेर पुनः दुर्गा मन्दिरमा स्थापित गरिएको छ ।

गरुडा दुर्गा मन्दिरमा स्थापना गरिएको कलशको आजदेखि नौ दिनसम्म पूजापाठ गर्ने प्रचलन छ ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update