
काठमाडौ - पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्ग आज साँझसम्म खुलाउने गरी काम भइरहेको छ ।
पहिरोका कारण ४० घण्टाभन्दा बढी अवरुद्ध रहेको मुग्लिन–नारायणघाट सडकखण्डमा यात्रु अलपत्र परेपछि धमाधम पहिरो पन्छाउने काम भइरहेको छ ।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाले वर्षा नभएका खण्डमा साँझसम्म मुग्लिन–नारायणघाट सडकखण्डको पहिरो पन्छाएर सडक खुलाउने गरी काम भइरहेको जानकारी दिए ।
‘मुख्य समस्या पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणघाट सडकखण्ड र अरनिको राजमार्गमा देखिएको छ । मुग्लिन–नारायणघाट सडकखण्ड आज साँझसम्म नै सञ्चालन गर्ने गरी काम अगाडि बढाएका छौँ । अरनिको राजमार्ग ठूलो वर्षा नभए तीन दिनभित्र सञ्चालन गर्ने गरी पहिरो पन्छाउने काम भइरहेको छ’ , उनले भने, ‘दसैँमा उपत्यकाबाट बाहिरिने यात्रु बाटोमा अलपत्र नपरून् भन्ने हो ।’
विभागका अनुसार पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी,रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का (कोसी राजमार्ग) लगायतका हाल देशभर १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् ।
यसैगरी १६८ राजमार्गमा यातायातका साधन एकतर्फी रूपमा सञ्चालन भइरहेका विभागले जनाएको छ ।