
चितवन - नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो अझैसम्म पन्छाउन सकिएको छैन । शुक्रबार साँझदेखि पहिरो खसेर अवरुद्ध बनेको राजमार्ग सञ्चालन नहुँदा यात्री अलपत्र परेका छन् ।
शुक्रबार साँझदेखि खसेको पहिरो निरन्तर पन्छाउने काम भइरहे पनि पूर्ण रूपमा पहिरो पन्छाउन आइतबारसम्म लाग्ने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
आज साँझसम्म पहिरो पन्छाउँदा पहिरो खस्ने क्रम जारी रहेको जनाउँदै कार्यालयका प्रमुख नारायण लामिछानेले ठूलो पहिरो भएकाले रातको समयमा काम गर्न कठिन हुने बताए ।
आजका लागि पहिरो पन्छाउने काम रोकिएको छ । आइतबार बिहानदेखि पहिरो पन्छाइने जनाइएको छ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फबाट तीन वटा र नारायणगढबाट दुई वटा साधन परिचालन गरिए आज साँझ ६:३० बजे पुनः पहिरो खसेपछि काम रोकिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।