Harsamaya
शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल

काठमाडौं - संविधान दिवसका अवसरमा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशमा शान्ति, सुशासन, पुनर्निर्माण र जबाफदेहिताको अपेक्षा व्यक्त गरेका छन् । 

एक विज्ञप्ति मार्फत पौडेलले संविधान दिवसको शुभकामना दिँदै हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोक सन्तप्त परिवारजन र घाइतेप्रति समवेदना र शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

उनले आन्दोलनको क्रममा सार्वजनिक तथा निजी संरचनामा भएको तोडफोड र आगजनीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र क्षतिग्रस्त संरचनाको यथाशीघ्र पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्ले शान्ति, सुशासन, भ्रष्टाचार नियन्त्रण, पुनर्निर्माण र तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न महत्त्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्नेमा पौडेलले जोड दिएका छन् ।

उनका अनुसार जेनजी आन्दोलन उत्पन्न हुनुमा युवा पुस्ताको असन्तुष्टि, भ्रष्टाचार, सुशासनको अभाव र कमजोर सेवा प्रवाह प्रमुख कारण हुन् ।  उनले आन्दोलनका कारण र पृष्ठभूमिको सम्बोधन आवश्यक भए पनि आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीलाई निन्दनीय भनेका छन् ।

पार्टीगत समीक्षा गर्दै पौडेलले नेकपा (एमाले) ले विगतमा लिएका निर्णय र तिनका परिणामबारे गम्भीर समीक्षा हुने बताएका छन् । व्यक्तिगत रूपमा आफ्नो कमजोरी र गल्तीप्रति क्षमा याचना पनि गरेका छन् । 

उनले अबको मार्ग दिशामा नयाँ पुस्तासँगको एकता, युवा शक्तिको निर्णायक सहभागिता र सङ्गठन तथा कार्यशैलीमा परिवर्तनका लागि एमाले प्रतिबद्ध रहेको बताएका छन् । 

पौडेलले संविधानको रक्षा, प्रयोग र विकासका लागि सम्पूर्ण नेपालीले योगदान दिनु आवश्यक रहेको उल्लेख गर्दै आपसी सद्भाव र एकताको बलमा देश विकास, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update