
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको मंगलबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । टिचिङ अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा उनीहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । अरु आज दिनभर के के भए ? मुख्य समाचारहरू ।
सरकारसँग जेनजी पुस्ताको १३ बुँदे मस्यौदा तयार
जेनजी आन्दोलनका क्रममा उत्पन्न भएको राजनीतिक संकट अन्त्य गर्न आन्दोलनरत पक्षले सम्झौता पत्रको मस्यौदा तयार गरेको छ । १३ बुँदामा तयार मस्यौदामा पाँच जना ३५ वर्षमुनिका जेन जेट तथा युवा प्रतिनिधिहरू सहभागी गराउन प्रस्ताव गरिएको छ । सम्झौतामा दशकौँदेखिको कुशासन, भ्रष्टाचार, जवाफदेहीताको अभाव, सार्वजनिक संस्थाहरूमा भएको दलीयकरण र दण्डहीनताविरुद्ध आम नेपाली जनताको असन्तुष्टि र आक्रोशलाई सम्बोधन गर्नुपर्ने भनी मस्यौदामा उल्लेख गरिएको छ ।त्यस्तै राजनीतिक नियुक्ति अन्त्य गरी सार्वजनिक संस्थाहरूमा स्वतन्त्र, निष्पक्ष र सक्षम व्यक्तिहरूको नियुक्ति गर्नुपर्ने उल्लेख छ ।‘स्पिक अप नेपाल’ नामक वेबसाइटमार्फत सार्वजनिक गरिएको मस्यौदामा खुल्ला छलफलका लागि आव्हान समेत गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको अन्त्येष्टि
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको मंगलबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । टिचिङ अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा उनीहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । ज्यान गुमाएका सहिदमध्ये चार जनाको आज पशुपतिमा अन्त्येष्टि गरिएको हो । सो क्रममा पशुपति आर्यघाटमा मृतकका परिवारहरुको रुवाबासी चलेको थियो । आफन्त गुमाएकाहरु ठूलो संख्यामा आर्यघाटमा भेला भएका थिए । शव जलिरहँदा रुवाबासी चल्दा सन्नाटा छाएको हो । शवयात्रामा सरिक भएर आर्यघाट पुगेकाहरु भावविह्वल बनेका थिए ।
जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव सेनाले सम्बन्धित जिल्लामा पुर्यायो
जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा सम्बन्धित जिल्लामा पुर्याइएको छ । यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्ला पुर्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार पदभार ग्रहण गर्दै प्रदर्शनमा मृत्यु भएका व्यक्तिको शव घर ठेगानासम्म सरकारले पुर्याइदिने निर्णय गरेको थियो । प्रदर्शनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।
सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैन
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जस्तो संस्थाहरू जलाउनेलाई छुट दिन नसकिने बताएका छन् ।माओवादी पार्टी कार्यालय सरसफाइ गर्ने क्रममा उनले पार्टी कार्यालयको मात्र कुरा होइन राष्ट्रको प्रतिक बनेको सिंहदरबार पनि जलाइएको भन्दै त्यस्तो मान्छेलाई कुनै पनि हालतमा छुट दिन नसक्ने बताए । उनले भने, ‘सबै ध्वस्त हुने गरी जलाइएको छ कतिपय सामान लुटिएको छ । सामानहरू पनि सबै तोडफोड गरिएको छ । सामानहरू कतिपय लुटेको छ । पार्टी कार्यालयको मात्र कुरा होइन राष्ट्रको प्रतिक बनेको सिंहदरबार जस्तो संस्थाहरू जलाउनेलाई हामीले कुनै पनि हालतमा छुट दिन सक्दैनौ ।’
यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको साइत सार्वजानिक गरेको छ । मंगलबार समितिले सूचना जारी गर्दै यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको जानकारी दिएको हो । त्यस दिन बिहान ९:२३ बजे देवी विसर्जनको साइत छ भने टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने समितिले जनाइएको छ । समितिले आज जारी गरेको सूचना अनुसार यस वर्षको बडादशैं २०८२ सालको असोज ६ गतेदेखि सुरु हुदैँछ । त्यस दिन बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको छ ।
बिपि राजमार्ग २४सैं घण्टा खुला हुने
आसन्न दशैं–तिहार लगायतका चाडपर्वमा यात्रुहरूको सहज आवागमनका लागि बिपि राजमार्गलाई चौबीसै घण्टा सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको सूचनाअनुसार भोलि असोज १ गतेदेखि राजमार्ग खुला गरिने भएको हो । यसअघि वर्षातका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो आउने भएकाले काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सवारी साधनलाई यात्रुको सुरक्षाका लागि भन्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन निषेध गरिएको थियो। जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको निर्णयअनुसार भदौ मसान्तसम्म उक्त प्रतिबन्ध लागू गरिएको थियो ।
कर तिर्ने समय एक महिना थप
सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ । कानुनअनुसार यही भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने गत साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए ।