Harsamaya
कांग्रेस जनसम्पर्क समिति समन्वय विभागद्धारा आन्दोलनको नाममा भएको हिंसा र अराजकता विरुद्ध घोर निन्दा

काठमाडौं - नेपाली काँग्रेसको जनसम्पर्क समिति समन्वय विभागको बैठक आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन परिसरमा सम्पन्न भएको छ । विभाग प्रमुख तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलको अध्यक्षतामा बसेको बैठकले हालै देशभर भएका अराजक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घोर निन्दा र भर्त्सना गरेको छ ।

बैठकले भदौ २४ गते सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री डा. आरजु देउवामाथि आफ्नै निवासमा गरिएको साङ्घातिक आक्रमणको कडा शब्दमा निन्दा गर्दै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

साथै, सोही दिन विभिन्न नेताहरूको निवास, नेपाली काँग्रेसको केन्द्रीय तथा जिल्ला कार्यालयहरू, सिंहदरबार, सर्वोच्च अदालत, संघीय संसद भवन, सरकारी कार्यालयहरू, प्रदेशसभा तथा मन्त्रालयहरू, उद्योग तथा निजी व्यापारिक प्रतिष्ठानहरूमा गरिएको आगजनी र तोडफोडप्रति बैठकले गहिरो चिन्ता व्यक्त गरेको छ ।

बैठकले नेपाली काँग्रेसले देशमा निरङ्कुश राणा शासन, पञ्चायत र राजतन्त्र अन्त्य गरी लोकतन्त्र स्थापना गर्न पुर्‍याएको योगदानलाई स्मरण गर्दै, वर्तमान किशोर पुस्ताको आन्दोलनको आडमा नियोजित ढङ्गमा भएको हिंसात्मक प्रहारलाई अस्वीकार्य ठहर गरेको छ ।

बैठकले नेपाली काँग्रेसले सधैँ लोकतन्त्रको संरक्षण र संवर्द्धनमा अग्रसर रहेको स्पष्ट पार्दै, ‘हामी फेरि जुट्नेछौँ, एकजुट भई उठ्नेछौँ, खरानीबाटै उठेर देशलाई समुन्नतिमा पुर्याउनेछौ’ भन्ने दृढ सङ्कल्प व्यक्त गरेको छ ।

बैठकले हालै संविधानको मर्म र मान्यताको उल्लङ्घन गर्दै प्रधानमन्त्री नियुक्ति र त्यसपछिको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक करार दिएको छ। साथै, संसद मार्फत सम्बोधन गर्न सकिने मागहरूप्रति आन्दोलनकारी पक्षलाई संवैधानिक प्रक्रिया अपनाउन आह्वान गरिएको छ ।

२०८२ भदौ २३ गते जेनजी पुस्ताले गरेका प्रदर्शनका क्रममा प्रहरीले संयम गुमाएर गोली प्रहार गर्दा ज्यान गुमाएका किशोर किशोरीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकले शोक सन्तप्त परिवारप्रति समवेदना जनाएको छ । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ ।

समन्वय विभागको बैठकले सम्पूर्ण पार्टी नेता तथा कार्यकर्तालाई लोकतन्त्र, संविधान र शान्तिपूर्ण समाजका पक्षमा दृढ रहन आग्रह गर्दै, आम नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न स्थानीय तह र जिम्मेवारी क्षेत्रमार्फत सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update