
धनुषा - जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई फिर्ता बोलाएको छ ।
संसदीय दलका नेता महेशप्रसाद यादवले आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको जानकारी दिएका छन् ।
उक्त पार्टीबाट मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरणमन्त्री सञ्जय यादव र उद्योग वाणिज्य तथा पर्यटनमन्त्रीमा बसन्त कुशवाहा रहेका थिए ।
संसदीय दलका नेता यादवले सरकारबाट बाहिरिएको सम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको जानकारी दिए । यही भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा मुख्यमन्त्री सिंहले फेसबुकमै राजीनामा दिएका थिए । तर प्रदेश प्रमुखको कार्यालयमा लिखित राजीनामा दिएनन् । आज केही सञ्चारमाध्यममा मुख्यमन्त्री सिंहले राजीनामा नदिने अडान लिएको भनी आलोचना भएको थियो ।
यहाँ जनमत पार्टी नेतृत्वको सरकारमा नेकपा (एमाले), नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सत्तासाझेदार छन् ।