
काठमाडौं - त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा शव पहिचानका लागि आधिकारिक पत्र कम आउँदा शव परीक्षणमा ढिलाइ भएको छ । जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शव परीक्षण कार्य भइरहेको छ ।
विभागका प्रमुख डा गोपाल चौधरीले हालसम्म नौ जनाको आफन्तको पत्र आएको बताउनुभयो । जसमा तीन जनाको शव परीक्षण गरेर आफन्तको जिम्मा लगाइएको उनले बताए । उनले हाल तीन जना प्रहरी र ३३ जना प्रदर्शनकारीको शव परीक्षणका लागि अस्पताल ल्याइएको जानकारी गराए ।
उनले भने, ‘महिला दुई जना र बाँकी पुरुषको शव रहेको छ । शव परीक्षणका लागि भदौ २३ गते नै शव आइपुगे पनि प्रहरीको पत्र आउन ढिलाइ भएकाले शव परीक्षण ढिलो हुन पुगिरहेको छ । पत्रविना हामीले शव परीक्षण सुरु गर्न मिल्दैन । प्रक्रिया पूरा गरेर मात्र परीक्षण गर्नुपर्ने हुन्छ ।’
डा चौधरीले आन्दोलनमा मृत्यु भएकाको हालसम्म डिएनए परीक्षण गर्नुपर्ने अवस्था नरहेको बताउँदै शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट शव परीक्षण गरिने बताए ।
विभागमा हाल ६ चिकित्सक र तीन सहयोगीसहित नौ जनाको टिमले सो फरेन्सिक प्रक्रिया हेरिरहेको छ । पाटन अस्पतालमा शवको परीक्षण भइरहेको छ ।
जेनजी प्रदर्शनमा नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म ५१ जनाको मृत्यु भइसकेको जनाएको छ । जसमा तीन जना प्रहरी, २१ जना आन्दोलनकारी, १८ जना अन्य र नौ जना कैदीबन्दी रहेका छन् ।