Harsamaya
काठमाडौं उपत्यकामा भाद्र २८ गतेसम्म कर्फ्यु आदेश जारी

काठमाडौं - नेपाली सेनाले शुक्रबार नागरिकको जनधनको सुरक्षाका लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरूमा निषेधाज्ञा र कर्फ्यु आदेशलाई निरन्तरता दिने भएको छ ।

एक सूचना जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान ११ बजे देखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । यस्तै बेलुकी ७ बजे देखि भाद्र २८ गते बिहान ६ बजे सम्म कर्फ्यु आदेश जारी गरेको छ ।

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अत्यावश्यक कार्यको लागि बिहान ६ बजे देखि बिहान ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजे सम्म आवतजावत गर्न सकिनेछ ।

निषेधाज्ञा तथा कर्फ्युको दौरान समेत अत्यावश्यक सेवाका (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यास लगायतको इन्धन, दूध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधी ओसारपसार गर्ने) सवारी साधनहरू सञ्चालन गर्न सकिने नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विभिन्न सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, बैङ्क तथा वित्तीय संस्था लगायतका सार्वजनिक संस्थानहरूमा कार्यरत कर्मचारीहरूले आफ्नो सक्कल परिचय पत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सकिने समेत सूचनामा उल्लेख गरिएको छ ।

यस्तै, आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन् भने आवश्यक सहजताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न समेत सकिने छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update