
काठमाडौं - सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनाका थप १५ हजार भन्दा बढी नयाँ उजुरी प्राप्त भएको जनाएको छ ।
आयोगले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरि काबु बाहिरको परिस्थिति र जवरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसासंगसम्बन्धीत उजुरी माग गर्दा १५ हजार १ सय ९१ नयाँ उजुरी प्राप्त भएको जनाएको हो । बेपत्ता पारिएको व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ बमोजिम आयोगले ३ महिने सार्वजनिक सूचना जारी गरि उजुरी माग गरेको थियो ।
सो अवधिमा आयोगमा ५ हजार ४ सय ७१, जिल्लाबाट प्राप्त भएको उजुरी ५ हजार ८ सय ८, जबरजस्ती करणी वा यौनजन्य हिंसा सम्बन्धी उजुरी ३ हजार ९ सय १२ रहेको आयोगका सदस्य एवं प्रवक्ता अच्युत प्रसाद भण्डारीले जानकारी दिए । यसअघि जबरजस्ती करणी वा यौनजन्य हिंसा सम्बन्धी ३ सय १४ उजुरी मात्र दर्ता भएको थियो ।
सबैभन्दा बढी जिल्लागत उजुरी दर्ता भएको जिल्लामा जाजरकोटबाट ८८३ उजुरी प्राप्त भएको उनले बताए । उनले नया र पुरानो गरी हालसम्मको कुल उजुरी संख्या ७८ हजार ९ सय ९ पुगेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष महेश थापाले जबरजस्ती करणी वा यौनजन्य हिंसा सम्बन्धी उजुरी यसअघिको भन्दा धेरै परेको बताए । पीडितहरुको गोपनीयतालाई ध्यानमा राखेर आयोगले कामकारवाहीलाई अघि बढाउने उनले बताए । अध्यक्ष थापाले पहिलो दुई बर्षभित्रमा सवै मुद्दाहरुको सत्य छानविन गर्ने र अरु प्रक्रिया अघि बढाइने उल्लेख गरे ।
उनले आयोगलाई आवश्यक स्रोत साधन प्रयाप्त भए चारबर्षभित्र सवै काम टुङ्गो लगाइने धारणा राखे । आयोगले २०५२ साल फागुन २ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्मका घटनाहरुमा मात्रै आयोगसमक्ष उजुरी दिन पाइने व्यवस्था गरेको थियो ।