Harsamaya
५ लाख बढी मूल्यका भन्सार छलीको कपडा र मोटरसाइकलसहित रामकुमार पक्राउ
अवैध रूपमा भन्सार छली गरेर ल्याइएको लत्ताकपडा र दुई वटा मोटरसाइकलसहित रामकुमार यादव।

सिरहा - भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएको लत्ताकपडा र दुई वटा मोटरसाइकलसहित एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान गोलबजार नगरपालिका–६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाको गस्ती टोलीले उक्त सामानसहित २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको हो । यादव सुखीपुर नगरपालिका–७ सिसवा निवासी हुन् ।

उनीसँगै रहेका अर्का मोटरसाइकल चालक भने फरार रहेको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए ।

सशस्त्र प्रहरीका अनुसार यादवको साथबाट दुई लाख ८२ हजार ८०० बराबरको कपडा र दुई लाख ५० हजार मूल्य बराबरका दुई थान मोटरसाइकल बरामद गरिएको छ । बरामद सामग्रीको मूल्य ५ लाख ३२ हजार ८०० बराबर रहेको छ । 

सशस्त्र प्रहरी उपरीक्षक भण्डारीका अनुसार भारतबाट भन्सार छली गरेर सामान भित्र्याउने कार्यमा रोक लगाउन सशस्त्र प्रहरीले कडा निगरानी थालेको छ ।

पक्राउ परेका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको पनि उनले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update