
काठमाडौँ - नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालहरु आजदेखि निष्क्रिय भएका छन्। नेपाल सरकारको निर्देशन र सर्वोच्च अदालतको आदेशपछि नेपाल टेलिकम र एनसेलले आफ्ना नेटवर्कमार्फत २६ वटा सामाजिक सञ्जाल बन्द गरेका हुन्।
नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार पत्राचार गर्दै सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको थियो। सोहि अनुरूप फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाट्सएपलगायतका लोकप्रिय प्लेटफर्महरू नेपालभित्र निष्क्रिय भएका छन्।
नेपाल टेलिकमले एक सूचनामार्फत दर्ता नभएका सामाजिक सञ्जाल सञ्चालन गर्न नपाउने सरकारको निर्णय र मन्त्रालयको निर्देशन पालना गरिएको जनाएको छ। एनसेलले पनि आफ्नो नेटवर्कमा यस्ता सबै प्लेटफर्म बन्द गरिसकेको पुष्टि गरेको छ।
यो कदमसँगै प्रयोगकर्ताले दैनिक जीवनमा प्रयोग गर्दै आएका सामाजिक सञ्जाल प्लेटफर्महरूमा पहुँच गुमाएका छन्। अहिले यस विषयले देशभर प्रयोगकर्ताबीच व्यापक चर्चा र असन्तोष सिर्जना गरेको छ।