काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने सेवा प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ।
इन्टरनेटको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्राधिकरणले हालसम्म इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र आफूले पनि शुल्क बढाउन स्वीकृति नदिएको जनाएको हो।
प्राधिकरणले सेवा प्रदायकले उचित र मनासिब शुल्क लिनुपर्ने उल्लेख गर्दै शुल्क वृद्धि गर्नुपरेमा लागू हुने मितिसहित कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ।
प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक गर्नुपर्ने, पूर्वस्वीकृतिबिना शुल्क बढाउन नपाइने र उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्न नहुने प्राधिकरणले स्पष्ट पारेको छ।
नियमविपरीत स्वीकृत दरभन्दा बढी शुल्क लिएको वा पूर्वस्वीकृतिबिना शुल्क वृद्धि गरेको पाइएमा दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम सम्बन्धित सेवा प्रदायकमाथि कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ।

