Harsamaya
विपद्को पूर्वसूचना दिने प्रणाली आज परीक्षण हुँदै, मोबाइलमा सन्देश आए नआत्तिन आग्रह
गृह मन्त्रालय ।

काठमाडौं - विपद्का बेला नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना तथा सतर्कता सन्देश उपलब्ध गराउने उद्देश्यले नेपालमै विकसित ‘सेल ब्रोडकास्टिङ प्रणाली’ आज परीक्षण गरिने भएको छ।

गृह मन्त्रालयका अनुसार सोमबार साँझ ५ः३० बजे उक्त प्रणालीको प्राविधिक परीक्षण गर्न लागिएको हो। सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा परीक्षण हुन लागेको हो।

परीक्षणका क्रममा काठमाडौंका सीमित क्षेत्रमा मोबाइल फोनमा सतर्कता सन्देश प्राप्त हुन सक्ने भएकाले त्यस्तो सन्देश आएमा नआत्तिन गृह मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ।

यस परीक्षणको मुख्य उद्देश्य विपद्का समयमा मोबाइल फोनमार्फत पूर्वसूचना पठाउने प्रणालीको प्राविधिक क्षमता र सन्देश प्राप्त हुने अवस्थाको परीक्षण गर्नु रहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ‘सेल ब्रोडकास्टिङ’ निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना तथा चेतावनी पठाउन सकिने प्रविधि हो। यस प्रणालीमार्फत सिमकार्ड वा इन्टरनेट सेवा नभए पनि मोबाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा सन्देश प्राप्त हुन सक्छ।

सामान्य मोबाइल सन्देशभन्दा फरक प्रकृतिको यस प्रविधिले नेटवर्कमा अत्यधिक चाप भएका बेला पनि छोटो समयमा ठूलो संख्यामा मोबाइल उपकरणमा सूचना पुर्‍याउन सक्छ। साथै, विपद्को जोखिम रहेको निश्चित क्षेत्रमा मात्रै सन्देश पठाउन सकिने भएकाले जोखिममा रहेका समुदायलाई लक्षित गरी सचेत गराउन सकिनेछ।

प्रारम्भिक परीक्षण सफल भएमा प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गर्दै विपद्को उच्च जोखिम रहेका क्षेत्रमा कार्यान्वयन गर्ने गृह मन्त्रालयको योजना छ।

यस प्रणालीको कार्यान्वयनले बाढी, पहिरोलगायत प्राकृतिक विपद्को जोखिम रहेका क्षेत्रका नागरिकलाई समयमै सचेत गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट नागरिकले सम्भावित जोखिमबारे पूर्वजानकारी पाएर आवश्यक सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा जान तयारी गर्न सक्नेछन्।

नेपालमा विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै दूरसञ्चार प्रविधिको उपयोगमार्फत नागरिकको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले यो परीक्षणलाई महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update