
काठमाडौँ - देशका विभिन्न स्थानमा २४ घण्टाभित्र लगातार तीन पटक भूकम्पको धक्का अनुभव गरिएको छ। मंगलबार बिहानदेखि रातिसम्म गोरखा, दोलखा र सिन्धुपाल्चोकमा क्रमशः चारदेखि चार दशमलव एक म्याग्निच्यूडसम्मका कम्पन आएका हुन् ।
राति ११ बजेर २३ मिनेटमा सिन्धुपाल्चोकको तारामराङ आसपासलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो धक्का सिन्धुपाल्चोकसँगै आसपासका जिल्लामा पनि स्पष्ट रूपमा महसुस गरिएको थियो ।
यसअघि मंगलबार बिहान ६ः१५ मा गोरखाको अजिकोत–३ हंशपुरमा ४ म्याग्निच्यूडको भूकम्प गएको थियो भने दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ क्षेत्रमा ४.१ म्याग्निच्यूडको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ ।
लगातार आएका यी भूकम्पले स्थानीयवासीमा त्रास फैलाए पनि अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन ।