
स्याङ्जा - नेपाल सरकारका पूर्व मन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गफ र भाषणले मात्रै युवा पलायन नरोकिने बताएका छन् ।
शुक्रबार श्री कालिका पुस्तकालयको आयोजनामा भिरकोट नगरपालिका ७ मा आयोजना भएको जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगिता एवम् दर खाने कार्यक्रममा बोल्दै उनले देशमा विकास नहुँदा युवा विदेश पलायन हुनुपरेको प्रसङ्ग जोड्दै नेताको भाषण मात्रै युवा पलायन नरोकिने ठोकुवा गरे ।
देश समृद्धि बनाउन एक नेताले अर्को नेतालाई गाली गरेर मात्र नहुने उनको भनाइ थियो । ‘हामी माइक पाउन साथ एक नेताले अर्को नेतालाई गाली गर्ने प्रवृत्ति बढेको छ, उनले भने यसले गर्दा देश विकासमा पनि अबरोध गरेको छ ।’
देशलाई समृद्धि बनाउन सके मात्रै युवा पलायन रोकिने भन्दै देशले जडिबुटी, पर्यटन, कृषि क्षेत्र लगायतमा जोड दिन सके मात्र युवा पलायन रोकिने उनको धारणा थियो । उनले भने ‘बुबा, आमा, भर्खर बिहे गरेकी श्रीमती छोडेर रुदै विदेशिने रहर कसैलाई हुँदैन, युवालाई भाषण भन्दा पनि रोजगारीको खाँचो छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री गुरुङले सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्ने तयारीको काम अन्तिम अन्तिम चरणमा पुगेको बताए । ‘सिद्धार्थ राजमार्ग डेडिकेटेट डबल लेनमा स्तरोन्नति गर्ने प्रक्रिया छिट्टै सुरु हुन्छ । यसको काम द्रुत गतिमा अगाडि बढेको छ, उनले भने ।’
स्याङ्जाका ग्रामीण भेगमा रहेका जोखिमयुक्त सडकलाई जोखिममुक्त बनाउने अभियान निरन्तर चलिरहेको बताउँदै उनले विकास एउटा व्यक्तिले मात्रै गर्न नसक्ने बताए । ‘राजनैतिक दल,नेता,नागरिक,सरकार सबै मिलेर देशको विकास गर्ने हो, उनले भने, त्यसैले विकास यो नेताले उ नेताले गरेको हुँदैन।