Harsamaya
तातोपानी नाका हुँदै २६ मालवाहक कन्टेनर भित्रिए 
मालवाह कन्टेनर ।

काठमाडौं - नेपाल चीन जोड्ने तातोपानी नाकामा गएको पहिरो पन्छाएसँगै सामान आयात बढेको छ ।

शुक्रबार नाका हुँदै २६ मालवाहक कन्टेनर भन्सार क्षेत्रमा प्रवेश गरेको हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले जानकारी दिए ।आज ४५ खाली कन्टेनर लिपिङ हुँदै चाइना गएको उनले बताए । 

‘आज ४५ खाली कन्टेनर लिपिङ साईड चाइना तर्फ भित्रियो’, उनले भने, ‘२६ लोड कन्टेनर भन्सार क्षेत्रमा प्रवेश गरेको छ ।’ 

बिहीबारबाट अरनिको राजमार्गको कोदारी खण्डको इकोमा गएको पहिरो पन्छाएसँगै आवतजावत सहज भएको हो । तीन सातादेखि पहिरो जाँदा सो नाका हुँदै आउने मालबाहक कन्टेनरहरू बाटोमै अलपत्र परेका थिए । तत्कालै कुहिने खाद्य पदार्थ र फलफूलहरू भरियालाई बोकाएर पहिरो पार गरिएको थियो । 

रसुवाको केरुङ नाकामा रहेको मितेरी पुल बाढीका कारण बगाएपछि व्यवसायीहरूले तातोपानी नाका हुँदै सामान आयात गर्न थालेका छन् । तातोपानी नाका जाने सडक दुरावस्थामा हुँदा यहाँबाट पनि सामान सहज आपूर्ति हुन सकेको छैन । 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update