Harsamaya
मधेशलाई झप्पकै छोप्यो तीजको रौनकले

रौतहट - रौतहट सहित मधेश प्रदेशका जिल्लामा हिन्दु नारीको महान् चाड हरितालिका तिजको रौनकताले झप्पकै छोपेको छ । अहिले गाउँ घर र शहर, बजारमा चहलपहल सुरु भइसकेको छ भने बजारमा किनमेल गर्नेहरूको भिडभाड उत्तिकै बढेको छ । तीजमा महिलाहरू माइत जाने, दर खाने र महादेवको व्रत बस्ने तयारीमा रहेको देखिन्छ ।

विशेष गरी हिन्दु महिलाका माझ प्राचीन कालदेखि नै निकै लोकप्रिय रहेको तीज पर्व पछिल्लो समयमा सबै जाति, वर्गमा पनि प्रसिद्ध बनेको छ । तराई मधेशका पहाडी समुदायका महिलाहरूमा सीमित रहेको तीज पर्व पछिल्लो समय यहाँका मधेशी समुदाय माझ पनि लोकप्रिय छ । मधेशमा रहेका पहाडी समुदायका महिलाहरू सँगै उनीहरू पनि दर खाने र भक्तिपूर्वक उपवास बस्ने गर्दछन् । 
तीज पर्वको आफ्नै धार्मिक , मौलिकता र संस्कृति रहेकाले मनाउन थालिएको देवाही गोनाही नगर पालीका वडा न. ९ कि रेनुकुमारी गुप्ता बताइन् । यस पटक पनि तीजको व्रत बस्ने तयारी थालेको उनको भनाइ छ ।

तीजलाई सबै चेलीहरू जम्मा भएर सुख दुःख साटासाट गर्ने निकै रमाइलो र महत्त्वपूर्ण पर्वको रूपमा लिइन्छ ।अहिले गाउँ घरमा आफन्त, नाता गोता र साथी सङ्गीको बाक्लिँदो भेटघाटले तीजको उल्लास भित्रिसकेको देखाउँछ । गाउँमा सामूहिक रूपमा तीजको उत्सव मनाउने क्रम पनि बाक्लिन थालिसकेको छ । यहाँका  सङ्घसंस्थाले तीज लक्षित नाचगान, भेटघाट र प्रतियोगिता धमाधम आयोजना गरिरहेका छन् । चन्द्रपुरमा रहेको बिन्दावासीनी सहकारीले यही भदौ ४ गते तीजको दर खाने र नाचगानको कार्यक्रम गरेको हो ।

यहाँ वित्तीय तथा अन्य सङ्घसंस्थाले पनि प्रत्येक वर्ष तिजको दर खाने र नाचगानको कार्यक्रम गर्दै आएको छ । यस वर्षका लागि  केहीले दर खाने कार्यक्रम गरिसकेका छन् भने धेरैजसोले मिति तोकेर तयारी थालेका हुन ।  तीज आउनुभन्दा एक साता अघिदेखि होटेल रेस्टुराँमा दरको नाममा भोजभतेर चलाउने बेथिति अहिले पनि कायमै छ । यो तीज पर्वको मर्म र भाव विपरीत भएको चिन्ता पनि अगुवा  महिलाहरूबाट नै सुनिन्छ ।

तीजमा महँगा पहिरन र गहना प्रदर्शन गर्ने होडबाजी विकृतिका रूपमा रहेको  चन्द्र्पुरक दुर्गा पौडेल लाई चिन्ता छ । तिजको परम्परा र संस्कृति जोगाउँदै महिलाले सो अनुरूपमा मनाउनुपर्ने  उनको भनाइ छ । तीजका गीत सङ्गीत पनि पछिल्लो समयमा भने परिवर्तन हुँदै गएको छ ।  अहिले बजारमा तीजका नाममा अधिकांश भड्किला, उत्तेजित र मायाप्रीतिका गीत आउने गरेका कारण तीजको मौलिकता र संस्कृति ओझेलमा पर्दै गएको हो ।

एक दशक भन्दा पहिला जन्म घर छोडेर माइतीमा जम्मा भएका चेलीले आफ्नो सुख दुःख गीतबाटै भाव व्यक्त गर्दै रमाइलो गर्दथे । तर अहिलेको तीज गीतमा त्यस्तो भाव  नै पाइँदैन । तीजलाई रीतिरिवाज, संस्कार र संस्कृतिको मर्मअनुसार संरक्षण गर्नुपर्ने सचेत महिलाहरू बताउँछन्। अर्को तर्फ तीज पर्वले महिलालाई मात्र नभई व्यापारीहरूको व्यवसाय पनि फाइदा पुगेको छ । 

विगतका वर्षमा जस्तै यस वर्ष पनि तीज आउनुभन्दा अघि देखि नै चन्द्रनिगाहपुरका कपडा तथा साडी, कस्मेटिक, ब्युटी पार्लर र सुनका गरगहनाका पसलमा महिलाहरूको भिडभाड छ । यस वर्ष भाद्र ९ मा दर खाने  र १० गते हरितालिका तीजको व्रत रहेको पात्रोमा उल्लेख  छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update