Harsamaya
उपसभामुख विदेशमा रहेकाले महाअभियोग तत्काल अघि नबढ्ने
एमाले प्रमुख सचेतक महेश बर्तौला ।

काठमाडौं - सत्तारुढ दलले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव तत्काल अघि नबढाउने भएका छन् । 

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको सत्तागठबन्धनको बैठकले उपसभामुख राना स्वदेश फर्किएपछिमात्रै प्रक्रिया बढाउने निष्कर्ष निकालेका हुन् । बैठकपछि नेताहरुले उपसभामुख राना देश बाहिर रहेकाले स्वदेश फर्किपछि मात्रै प्रक्रिया अघि बढाउने सहमति भएको जनाएका छन् ।

हाल अमेरिका भ्रमणमा रहेकी उपसभामुख भाद्र १३ गतेपछि मात्रै स्वदेश फर्कने बुझिएको छ । बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने उपसभामुख रानाविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने बिषयमा छलफल नै नभएको बताए । 

सत्तारुढ दलकाबीच संसदीय मामिलालाई प्रभावकारी बनाउने, महत्वपूर्ण विधेयकलाई अघि बढाउने र संसदमा देखिएको गतिरोधका विषयमा साझा धारणा बनाउने प्रयास गरिएको उनले बताए ।

त्यस्तै उनले भूमिसम्बन्धी विधेयकमा सत्तारुढ दलबीच समान धारणा बनाएर सदनबाट पारित गर्न छलफल भएको जिकिर गरे ।

बर्तौलले उपसभामुखका विषयमा उठेका प्रश्नहरुलाई निष्कर्षका पुर्याउनका लागि खुला ढंगले छलफल गर्ने बताए । उपयुक्त समयमा यसका विषयमा आवश्यक निर्णय लिने भन्दै उनले उपसभामुख देशबाहिर रहेका बेला उहाँकाविरुद्ध टिप्पणी गर्नु उचित नहुने धारणा राखे । 

यस्तै जनता समाजवादी पार्टीका नेता वीरेन्द्र महतोले उपसभामुख नेपालमा नरहेकाले स्वदेश फर्किपछि यसबारे छलफल गरेर आवश्यक निर्णय लिइने बताए । सत्तागठबन्धनको बैठकमा समयमा नै विधेयक पारित गर्न संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने लगायतका विषयमा छलफल भएको उनले बताए । 

बैठकमा कांग्रेस एमाले, जसपा, जसपा नेपाल, लोसपा, जनमतलगाएत दलका नेताहरु सहभागी भएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update