Harsamaya
विपक्षी दलहरूले उपसभामुखलाई हटाउने षड्यन्त्रको सशक्त प्रतिवाद गर्ने 
उपसभामुख इन्दिरा रानामगर ।

काठमाडौं - संघीय संसद्का विपक्षी दलहरुले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने षडयन्त्रको सशक्त प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको बिपक्षी दलको बैठकले सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने षडयन्त्र गरेको भन्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

उनले उपसभामुखलाई हटाउन नहुनेमा सवै विपक्षी दलहरुबीच एकमत रहेको बताए । संवैधानिक परिषद्को अवस्थालाई लिएर पटक पटक उपसभामुखलाई हटाउने प्रयास भएको भन्दै उनले यस्तो कदम राष्ट्रका लागि ठिक नभएको जिकिर गरे । 

त्यस्तै बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने सत्तारुढ दलको प्रयासका बारेमा छलफल भएको जानकारी दिए । उपसभामुखलाई हटाउने र संसदलाई कमजोर पार्ने सत्तारुढ दलको षड्यन्त्रको विपक्षी दलहरु एक भएर प्रतिरोध गर्ने निर्णय गरिएको बताए । 

त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुखलाई हटाउन खोजेको भन्दै यस्ता कदमलाई कुनै हालतमा सम्भव हुन नदिने निर्णय गरिएको बताए । 

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले बिपक्षीलाई कमजोर पार्न गरिने सवै प्रकारका षडयन्त्रको प्रतिकार गर्नुपर्ने बताएका थिए । 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update