काठमाडौं - बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङले भाषाको पत्रकारिता र संरक्षणलाई संस्थागत रुपमा मजबुत बनाउन प्रदेश सरकार सदैव अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
३१औं तामाङ प्रसारण दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले २०५१ साल भदौ १ गते पहिलो पटक रेडियो नेपालबाट तामाङ भाषामा समाचार प्रसारण भएको दिनलाई ऐतिहासिक मितिको रुपमा स्मरण गरे। उनले भने, ‘यो केवल एउटा मिति मात्र होइन, हाम्रो भाषा र पहिचानको इतिहासमा कोरिएको सुनौलो अक्षर हो।’
मन्त्रीले तामाङ पत्रकार संघले हरेक वर्ष प्रदान गर्दै आएको ‘तामाङ मिडिया अवार्ड’लाई पत्रकारितामा तामाङ भाषाको योगदानको कदरको प्रतीक भन्दै सराहना गरे। उनले यसले भाषिक र सांस्कृतिक पहिचानलाई जीवित राख्ने महत्वपूर्ण काम गरिरहेको बताए।
उनले बागमती प्रदेश सरकारले तामाङ भाषालाई सरकारी कामकाजको भाषा घोषणा गरिसकेको भए पनि घोषणामात्र पर्याप्त नभएको उल्लेख गर्दै, त्यसलाई जीवन्त बनाउन ठोस नीति, कार्यक्रम र लगानी आवश्यक रहेको औंल्याए। ‘स्रोत र अवसरको कमीका कारण तामाङ भाषामा काम गर्ने पत्रकारहरू संघर्षरत छन्। अब ढिला गर्न हुँदैन, प्रदेश सरकार यसतर्फ आवश्यक पहल गर्नेछ,’मन्त्रीको भनाइ थियो।
उनले रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रमा तामाङ भाषाका सामग्री नियमित प्रकाशन–प्रसारण हुनु सकारात्मक कदम भए पनि अझ पर्याप्त नभएको उल्लेख गरे। साथै, यस वर्षदेखि राष्ट्रिय समाचार समितिबाट तामाङ भाषामा समाचार सेवा सुरु हुनु ऐतिहासिक र स्वागतयोग्य भएको भन्दै उनले सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई धन्यवाद दिए।
सम्बोधनका क्रममा उनले आफ्नो मन्त्रालयको जिम्मेवारीबारे पनि प्रष्ट पार्दै बागमती प्रदेशका नागरिकसम्म स्वच्छ, सुलभ र स्वस्थ खानेपानी पुर्याउनु पहिलो प्राथमिकता भएको बताए। सिंचाइ र उर्जा क्षेत्रमासमेत परिणाममुखी काम अघि बढाइने स्पष्ट पारे।
कार्यक्रममा प्रमुख अतिथि सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, तामाङ पत्रकार संघका पदाधिकारी, सञ्चार क्षेत्रका अग्रज तथा सहकर्मी पत्रकारहरू लगायत विभिन्न व्यक्तिहरुको उल्लेखनीय सहभागिता थियो।