काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशन समयमा नै सम्पन्न गर्न नेतृत्वलाई दवाव दिनुपर्ने बताएका छन् ।
कांग्रेस जिल्ला कार्यसमितिले सोलुखुम्वुले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले कांग्रेसको महाधिवेशन समयमा नै हुन नसके पार्टी कमजोर हुने र पार्टी कमजोर भए लोकतन्त्र नै कमजोर हुने भएकाले समयमा नै आगामी महाधिवेशन आयोजना गर्न पार्टी सभापति शेर बहादुर देउवालाई दवाव दिनुपर्ने बताएका हुन् ।
२०८४ पछि मात्रै पार्टीको महाधिवेशन गर्ने कुरा सुनिन थालेको भन्दै कोइरालाले त्यस्तो भए कांग्रेसको भविष्यमाथि नै प्रश्न उठ्न सक्ने जिकिर गरे । उनले कांग्रेसभित्रको गुटका कारण अनुशासन समिति पनि गुटमा बिभाजन हुन पुगेको बताए । पार्टीमा देखिएको बेतिथि अन्त्यका साथै एकढिक्का बनाएर अघि बढाउन पनि १५औँ महाधिवेशन समयमै हुन जरुरी रहेको उहाको भनाइ छ ।
त्यस्तै कोइरालाले ठूला दल मिलेर सरकार बनेपनि भ्रष्टाचार, दण्डहीनता बढ्दै गएको टिप्पणी गरे । निजामती विधेयकको कुलिङ अफ पिरियडमा छेडखानी गर्ने काम एमालेबाटै भएको भन्ने कुरा अब लुकाउन नपर्ने उनले बताए । उनले खाली जग्गा हडप्ने उद्देश्यका साथ एमालले भूमि सम्बन्धी विधेयक ल्याउन लागेको आरोप लगाए ।
कोइरालाले भूमि सम्बन्धी विधेययकमा कांग्रेसका सांसदहरूले संशोधन प्रस्ताव हाल्दा भूमिमन्त्रीले स्वीकार नगरेको जिकिर गरे । उनले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार सरकार चल्न नसकेको टिप्पणी गरे ।