
रसुवा - बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा रसुवाका प्रभात तामाङ नियुक्त भएका छन्। मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले शुक्रबार उनलाई सहित अन्य चार जनालाई मन्त्रिपरिषद्मा समावेश गरेका हुन्।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ सानोभार्खुका तामाङ यसअघि पनि मन्त्री बन्ने चर्चामा आएका थिए। निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाको पालामा उनको नाम अन्तिम समयसम्म पक्काजस्तै भएको थियो। तर, अन्तिममा दोलखाका कुन्दनराज काफ्लेलाई मन्त्री बनाएपछि उनी वञ्चित भएका थिए। अर्थमन्त्री रहेका बेला काफ्लेले ‘मनपरी बजेट’ ल्याएको आरोप लागेपछि त्यसको असर मुख्यमन्त्री लामाको सरकारमाथि समेत परेको थियो।
हिजो मात्र मन्त्री बनेका तामाङ नेपाली कांग्रेसको १३औं महाधिवेशनमा प्रतिनिधि हुँदै महासमिति सदस्य बनेका थिए। १४औं महाधिवेशनमा समेत उनी महासमिति सदस्य बनेका छन्। त्यसैगरी, बागमती प्रदेश कांग्रेस समितिका सदस्यसमेत रहेका छन्।
२०७४ सालमा तामाङ पहिलो पटक रसुवा क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। त्यतिबेला उनी प्रदेश संसदीय दलका प्रवक्तासमेत बनेका थिए।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा रसुवा प्रदेशसभा (क) बाट उम्मेदवार बनेका तामाङले ८१८६ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुलप्रसाद भट्टले ४७७२ मत पाएका थिए।