
काठमाडौं - बागमतीका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले आफूनिकटमा सांसदलाई मन्त्री बनाउने तयारी गरेको स्रोतले बताएको छ ।
कांग्रेसबाट काभ्रे प्रदेश निर्वाचन क्षेत्र २ (२) बाट निर्वाचित सांसद कञ्चनचन्द्र बादे, रसुवाको प्रदेश निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित सांसद प्रभात तामाङ, भक्तपुर प्रदेश निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित सांसद सुरेश श्रेष्ठलाई मन्त्री बनाउन लागिएको गोप्य स्रोत जानकारी दिएको छ।
यस्तै ललितपुरबाट समानुपातिक सांसद उर्मिला नेपाल, चितवनबाट समानुपातिक सांसद बिनु रायमाझीलाई मन्त्री नियुक्त गरेर आजै सपथ ग्रहण गराउने तयारीमा मुख्यमन्त्री बानियाँ जुटेका छन्।
यी ५ जना नै बानियाँनिकटका सांसद हुन्। निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षका ३ सांसदलाई मन्त्री बनाउने सहमति भएको भनिए पनि उनीहरू मन्त्री बन्ने सूचीमा परेका छैनन्। उनीहरुलाई कुन कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयको टुंगो लाग्न भने बाँकी छ।
नवनियुक्त मन्त्रीहरूको सपथ आजै दिउँसो ३ बजे प्रदेश प्रमुख कार्यालयमा गरिने स्रोतले जनाएको छ।
स्रोतका अनुसार बानियाँले आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रभातकुमार तामाङ, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कञ्चनचन्द्र बादे, सामाजिक विकासमन्त्रीमा बिनु रायमाझी, सहकारी तथा गरिबी निवारण मन्त्रीमा सुरेश श्रेष्ठ र युवा तथा खेलकुद मन्त्रीमा उर्मिला केसीलाई नियुक्त गर्ने तयारी गरेका छन् ।