Harsamaya

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजनागरी प्रवक्ता मनिष झाले संसद्मा प्रधानमन्त्रीले कारागारमा रहेको व्यक्तिको बारेमा सदनमा गएर त्यति समय व्यतित गर्नु मानसिक विचलन बाहेक केही पनि नभएको बताए । 

उनले भने,‘हिजो प्रधानमन्त्रीज्यूले संसद्मा जुन अभिव्यक्ति दिनुभयो त्यसप्रति खेद व्यक्त गर्दछौँ । हाम्रो पार्टीको बारेमा उहाँले बोल्नुभयो भनेर हामीलाई चिन्ता नै छैन । प्रधानमन्त्रीज्यूले कारागारमा रहेको व्यक्तिको बारेमा सदनमा गएर त्यति समय व्यतित गर्नु भनेको त मानसिक विचलन बाहेक केही पनि होइन।’ प्रधानमन्त्री ओलीले संसद्मा रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै भनेका थिए ,‘भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूबाट समयले यसको जवाफ सधैँ माग्ने बताउँदै उनले त्यस्ताका पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन दयालाग्दो कुरा हो’ ।

त्यस्तै उनले पहिले नै थुनामा रहेको व्यक्तिमाथि स्तर गुमाएर अपव्याख्या गरेको पनि आरोप लगाए । सुशासन सामाजिक र सार्वजनिक सेवा लिने क्रममा देखिने बताउँदै उनले ट्याक्स तिर्न जाँदा घुस खाने देशमा सदनमा सुशासनको कुरा गरेर हुन्छ ? भन्दै प्रश्न समेत गरे । 

उनले भने,‘लगानीको वातावरण कमजोर हुँदै छ । त्यसका बारेमा त बोल्नुभएन । हामीलाई चिन्ता छ । तर उहाँलाई चिन्ता थुनामा रहेको नेताको बारेमा नाना थरी स्तर गुमाएर अपव्याख्या गर्दै हुनुहुन्छ । टेबल ठोक्नेहरू पनि पाउनु भएकै छ । सुशासन सदनमा आउने राम्रो भाषणले होइन । सुशासन सामाजिक र सार्वजनिक सेवा लिने क्रममा देखिन्छ । ट्याक्स तिर्न जाँदा घुस खाने देशमा सदनमा सुशासनको कुरा गरेर हुन्छ ?’

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update