
काठमाडौं - प्रतिपक्षी दल आम जनता पार्टीका सांसद प्रभु शाहले सरकारको कस्टडीमा रहेको व्यक्तिहरु सुरक्षित नभएको बताएका छन् ।
बुधबार प्रतिनिधी सभाको बैठकमा बोल्दै उनले केही दिन अघि कैलाली कारागारमा भएको भरत चौधरीको मृत्युको सन्दर्भलाई जोडेर सरकारको कस्टडीमा व्यक्ति सुरक्षित नभएको बताएका हुन् ।
उनले नेपालमा नेताको लुट र भ्रष्टाचार मात्र सुरक्षित भएको बताए । उनले सरकारको कस्टडीमा एउटा कैदी बन्दीको हत्या हुन्छ त्यस्को जिम्मा कस्ले लिने भन्दै यसमा कैदी बन्दी दोषी हो कि सरकारको बेथिती दोषी हो भनेर सरकार सँग प्रश्न गरे ।
सरकारको कस्टडीमा कैदी सुरक्षित नहुनु सामान्य कुरा नभएकाले यस्को जिम्मा सरकारका सम्बन्धित मन्त्रीले लिनुपर्ने उनले बताए ।
‘देशमा शान्ति सुरक्षा त कायम भएन भएन अब त कारागारमा समेत मान्छे सुरक्षित भएनन् । सरकारको कस्टडीमा समेत व्यक्ति सुरक्षित नहुने भयो । नेपालमा त हामी हेर्दा एउटा मात्र सुरक्षित छ त्यो हो नेताको लुट र भ्रष्ट्राचार । हिजो वीरगन्ज कारगारमा समयमा उपचार नपाएर एक जना कैदी राहुल शाहको मृत्यु भयो । माथिको आदेशको अभावमा ती व्यक्ति हस्पिटल हुँदा हुँदैपनि मृत्युवरण गर्नु पर्यो । केही दिन अघि दुनियालाई लज्जित हुने कैलाली कारागारमा भरत चौधरीको मृत्यु भयो,’ उनले भने । ‘म सोध्न चहान्छु भरत चौधरीको हत्याको जिम्मा कस्ले लिई दिन्छ ।’