Harsamaya

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले गृहमन्त्री रमेश लेखकको नेतृत्वमा रहेको गृहप्रशासन असफल भएको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका छन् । 

मंगलबार बानेश्वरस्थित संसद भवन परिसदमा पत्रकारहरुसँग कुरा गर्दै उनले गृहमन्त्री लेखकको असक्षमताका कारण राजीनामा दिनुपर्ने बताएका हुन् । 

उनले भने, ‘अहिलेको गृहप्रशासनको नेतृत्व माननीय रमेश लेखकले गरिरहेका छन् । उहाँ असफल गृहमन्त्री भनेर हामीले भनिरहेका छौ । सरकारको १३/१४ महिनाको गतिविधि हेरेर उहाँ असफल गृहमन्त्री बन्नुभयो र आफ्नो असक्षमताका कारण राजीनामा दिनुपर्छ । तर उहाँमा नैतिकता भन्ने कुरा देखिएको छैन । नैतिकता देखाएर उहाँले मार्ग प्रशस्त गर्नुपर्छ ।’ 

उनले कैलालीको कारागारमा घटेको घटनाप्रति गृह प्रशासन संवेदनशील नभएको भन्दै गैरजिम्मेवारी भएको बताए । 

‘कैलालीको कारागारमा जुन घटना घट्यो त्यो घटना भनेको मानव अधिकार आयोगले पटक–पटक गृहमन्त्रालयलाई जानकारी गराउँदा गराउँदै पनि त्यसप्रति गृह प्रशासन संवेदनशील नभएको अवस्था देखिन्छ र त्यो भनेको गैरजिम्मेवारीपनको पराकाष्ठा हो,’ उनले भने ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update