Harsamaya
सामूहिक राजीनामा बोकेर गएका सांसदलाई देउवाको जवाफ : ‘म मिलाउँछु, विश्वासको मत नदिए कारबाही हुन्छ’
कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्व मुख्यमन्त्री बहादुर सिंह लामा ।

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने कार्यसूची तय गरेका छन्। तर, विश्वासको मत अघि नै पार्टीभित्रको आन्तरिक असन्तुष्टि चुलिँदै गएको छ।

पूर्व मुख्यमन्त्री बहादुर सिंह लामा पक्षका १४ जना सांसद सामूहिक राजीनामा पत्र बोकेर आइतबार दिउँसो नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा पुगेका थिए। उनीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई भेटी राजीनामा बुझाउन आग्रह गरे पनि देउवाले नबुझेको लामा पक्षीय सांसद गोविन्द लम्सालले जानकारी दिए।

लम्सालका अनुसार देउवाले मिलाउँछु भन्दै तत्काल राजीनामा नलिने बताएका थिए। साथै, उनले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिए कारबाही हुने चेतावनी समेत दिएका थिए।

मुख्यमन्त्रीमा नियुक्त हुनु अघि बानियाँले देउवासँग भेटी लामा पक्षका तीन जनालाई मन्त्री बनाउने सहमति भएको थियो। तर, उक्त सहमति कार्यान्वयन नगरी बानियाँले संसदीय दलको नेता, प्रवक्ता, सचेतक र मन्त्रीहरूमा आफ्नै पक्षका सांसद नियुक्त गरेपछि लामा पक्ष असन्तुष्ट भएको हो। विश्वासको मत दिने समयसीमा नजिकिदैं गर्दा पनि बानियाँले लामाका मागहरू पुरा गरेका छैनन् । 

आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर बानियाँ संसदीय दलको नेता र मुख्यमन्त्री त बने तर विश्वासको मत के होला हेर्न बाँकी नै छ । 

यता, बागमती प्रदेश कांग्रेस संसदीय दलले प्रदेशसभाका सबै सदस्यहरूलाई ह्वीप नै जारी गरेर बानियाँलाई विश्वासको मत दिन भनेको छ । चौतर्फी घेराबन्दीमा परेका लामाले कस्तो कदम चाल्छन् हेर्न बाँकी नै छ । बानियाँले आफूलाई संसदीय दलको नेता बनाउन मत दिने २२ संसदको मात्रै कुरा सुनेको आरोप लागेको छ । 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update