
सिन्धुपाल्चोक – नेपाल विद्यार्थी संघ (नेविसंघ) सिन्धुपाल्चोकका सचिव दिपेश राज खनालले जिल्ला कार्यसमिति अध्यक्ष पवन घोरासैनीमाथि संगठन विरोधी र अराजक कार्य गरेको आरोप लगाएका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै खनालले केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित नियुक्त गरेको जिल्ला अध्यक्षले अहिलेसम्म कुनै बैठक वा अधिवेशनमुखी कार्यक्रम सञ्चालन गर्न नसककेको आरोप लगाएका हुन् ।
संगठनलाई गतिशील बनाउनका लागि पटक–पटक आग्रह गर्दा समेत बेवास्ता गरिएको खनालको भनाइ छ। उनले कांग्रेस जिल्ला सभापति जंग बहादुर लामाको उपस्थितिमा बागमती प्रदेशका नवनियुक्त मन्त्री कृष्ण कुमार तामाङलाई बधाई तथा शुभकामना दिएको कार्यक्रमलाई आधार मानेर पदमुक्त गर्ने र मनोनयन गर्ने निर्णय ‘अधिकारभन्दा बाहिरको कदम’ भएको दाबी गर्दै त्यसको घोर भर्त्सना र खारेजी गरेका छन्।
सचिव खनालले ‘संगठन निर्माण र गतिशीलता कायम राख्ने कार्यलाई अनुशासनहिन ठहर गर्ने नेतृत्वले संगठनलाई गलत दिशातर्फ धकेल्दै छ’ भन्दै अराजक समूह र व्यक्तिवादी प्रवृत्तिको प्रतिकार गर्न सबैसँग आग्रह गरेका छन्।
साथै, जिल्ला कार्यसमितिबाट राजीनामा दिएका विद्यार्थी नेताको सकारात्मक सोचको सम्मान गर्दै उनले संगठन हितका लागि एकजुट हुन आव्हान समेत गरेका छन्।
खनाललाई गत शुक्रबार नवनियुक्त मन्त्रीलाई बधाई दिने कार्यक्रम राखेको भन्दै अध्यक्ष घोरासैनीले नेविसंघको जिल्ला सचिवबाट बर्खास्त गरेका थिए । खनालले भने अध्यक्षसँग सहमतिमै कार्यक्रम गरेको बताएका छन् ।