काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजातिहरुले आफ्नो आन्दोलनको क्षेत्र बुझ्न नसक्दा दुःख पाइरहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ३१औं विश्व आदिवासी दिवसको आवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरु आन्दोलनको सडकमा गएकोप्रति असन्तुष्टि जनाउँदै उनले संघर्षको मुख्य क्षेत्र संवैधानिक कानुनी र बौद्धिक अभ्यास रहेको बताए ।
उनले भने,‘नेपालका आदिवासी जनजातिको आन्दोलनको क्षेत्र सडक होइन । बेला बेलामा हामी सडकमा पनि गइराखेको हुन्छौं । कुनै दिन सडकमा जानुपर्ने दिन आउन सक्ला, तर आज संघर्षको मुख्य क्षेत्र संवैधानिक छ । कानुनी क्षेत्र छ र बौद्धिक अभ्यासको क्षेत्र छ । हाम्रो आन्दोलनको क्षेत्र यो हो भन्ने कुरा नेपालको आदिवासी जनजातिले बुझ्नुपर्छ । त्यो नबुझ्दा हामीले दुःख पाइरहेको छौं ।’
त्यस्तै उनले आदिवासी जनजातिको भाषाको संरक्षणमा एआईको प्रयोग गर्नुपर्नेमा जोड दिए । दाल भात नखाई मानिसको जीवन नबाचेको जस्तो एआईको प्रयोगबीना जीवनको समृद्धि पनि सम्भव नरहेको उनको भनाई छ ।
उनले भने,‘भाषा संरक्षणको लागि एआईको पनि प्रयोग गर्नुपर्छ । एआईले पनि त्यो भाषा भन्न सक्ने बनाउनुपर्छ । हामीले बुझ्नुपर्ने के छ भने एआई अब हाम्रो दाल भात जस्तै हो । दाल भात नखाई हाम्रो जीवन नबाँचेको जस्तो एआईको प्रयोग भएन भने हाम्रो जीवनको समृद्धि सम्भव छैन् । तर यसलाई नियन्त्रित ढंगले चाँही प्रयोग गर्नुपर्छ । एआई मानवको हितमा र नियन्त्रणमा चाँही हुनुपर्यो ।’