Harsamaya
विश्व आदिवासी दिवसमा मुख्यमन्त्री बानियाँको शुभकामना, आदिवासी ज्ञान संरक्षणमा एआई प्रयोगको प्रतिबद्धता
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ ।

हेटौंडा - बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले विश्व आदिवासी दिवस–२०८१ का अवसरमा प्रदेशका सम्पूर्ण आदिवासी जनजातिहरूलाई शुभकामना सन्देश प्रेषण गरेका छन्।

सन्देशमा मुख्यमन्त्री बानियाँले आदिवासी जनजातिहरूको भाषा, संस्कृति, परम्परा, पहिचान तथा अधिकारको संरक्षण र संवर्द्धनका लागि प्रदेश सरकार सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। उनले नेपालको १२५ भन्दा बढी जातजातिमध्ये ५९ वटा आदिवासी जनजातिको सूचीमा सूचीकृत रहेको उल्लेख गर्दै, ती समुदायहरूको पहिचान, सांस्कृतिक सम्पदा र मातृभाषा जोगाउन सबैको संयुक्त प्रयास आवश्यक रहेको औंल्याए।

यस वर्षको विश्व आदिवासी दिवसको मूल नारामा कृत्रिम बुद्धिमत्ता (एआई) र आदिवासी ज्ञान प्रणालीबीचको सम्बन्धबारे जोड दिइएको उल्लेख गर्दै उनले प्रविधिको सकारात्मक उपयोगमार्फत आदिवासी ज्ञान, सीप र मौखिक परम्परालाई संरक्षण र प्रवर्द्धन गर्न सकिने बताए।

सन्देशमा तामाङ, गुरुङ, नेवार, मगर, राई, लिम्बु, चेपाङ, थामी, सुनुवारलगायतका समुदायहरूले मुलुकको सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरिएको छ।

मुख्यमन्त्री बानियाँले मातृभाषा संरक्षण, शिक्षा क्षेत्रमा पहुँच विस्तार, सांस्कृतिक पहिचानको प्रवर्द्धन तथा एआई प्रविधिको उपयोगमार्फत आदिवासी ज्ञानको डिजिटल अभिलेखीकरण गर्ने जस्ता कानूनी र नीतिगत पहललाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

साथै, आदिवासी जनजातिहरूको अधिकार सुनिश्चित गर्न प्रदेश सरकार निरन्तर अग्रसर रहने उनले स्पष्ट पारेका छन्।

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update