
काठमाडौं - ललितपुरको जेम्स स्कुल चौथो विद्यालय स्तरीय पौडी प्रतियोगितामा च्याम्पियन भएको छ । मनमैजुस्थित आयोजक टुसाल मल्टी भेन्युको पौडी पोखरीमा भएको प्रतियोगितामा ३३ अङ्कसाथ जेम्स टिम च्याम्पियन बन्यो । ललितपुरकै लिटिल एन्जलस स्कुल दोस्रो भयो । लिटिल एन्जलसले समान ३३ अङ्क नै जोडे पनि स्वर्ण सङ्ख्याको आधारमा जेम्स पहिलो हुन सफल भयो । जेम्सले चार र लिटिल एन्जलसले तीन स्वर्ण जितेको थिए ।
तेस्रो स्थानमा पनि ललितपुरकै प्रिमियर इन्टरनेसनल आइबी वर्ल्ड स्कुलले सफलता पायो । प्रिमियरले कुल २६ अङ्क बटुल्यो ।सहभागी ६४ विद्यालयमध्ये २७ विद्यालय पदक जित्न सफल भए । चौथो डेएभी स्कुल, पाँचौँ अक्षरा स्कुल र छैटौँ ह्वाइटफिल्ड स्कुल भए । प्रतियोगितामा सहभागी सबैभन्दा कान्छी खेलाडी चार वर्षीय विधि नेपालले राइजिङ स्टारको ट्रफी हात पारिन् ।
प्रतियोगिताका विजेता खेलाडी तथा टोलीलाई टुसाल मल्टी भेन्युका प्रबन्ध निर्देशक लक्ष्मण केसी, तारकेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गी र टुसाल मल्टी भेन्युका अपरेसन प्रबन्धक विशाल खड्कालगायतले एक कार्यक्रमबिच पुरस्कृत गरेका थिए । त्यसअघि एक दिने प्रतियोगिताको उद्घाटन तारकेश्वर नगरपालिकाकी उपमेयर सिर्जना बुर्लाकोटी अर्यालले गरेकी थिइन् ।
तार्केश्वर नगरपालिकाको सहयोग र नेपाल पौडी सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो । प्रतियोगितामा काठमाडौँ उपत्यकाका ६४ विद्यालयबाट १ सय ७६ प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेको टुसाल मल्टी भेन्युका प्रबन्ध निर्देशक केसीले जानकारी दिए । कुल २९ इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो ।