
काठमाडौं - संघीय सरकारसमक्ष सातबुँदे माग राखेर काठमाडौंको माइतीघर मन्डलामा अनसनरत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र संघीय सरकाबीचको छलफल अझै निष्कर्षमा पुग्न सकेको छैन ।
शनिबार बिहान वनमन्त्री ऐन बहादुर शाहीको पहलमा वार्ता र छलफल प्रक्रिया अघि बढाइएपनि अनसन तोडाउने सरकारको प्रयास असफल भइरहेको छ ।
वन तथा वातावरण मन्त्रालय र शहरी विकास मन्त्रालयका उच्च स्तरका कर्मचारीहरुले भट्टराईले उठाएका मुद्दाहरुका बारे छलफल गरेर सम्झौताको खाका तयार गरेपनि त्यसले अन्तिम रुप पाउन नसकेको भट्टराई निकट एक सहयोगीले जानकारी दिए । संभवत शनिबार अपरान्ह वा आइतबारसम्ममा दुवै पक्षबीच सहमति हुने र अनसन तोड्ने तयारी गरिएको छ ।
नगरप्रमुख भट्टराईले बाँसका सामग्री तथा कोदोबाट उत्पादन गरिने घरेलु रक्सीको प्रवद्र्धन, बाँदर तथा भ्रष्टाचार नियन्त्रणलगायतका सात बुँदे माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा साउन ११ गतेबाट सत्याग्रह सुरु गरेका थिए ।
साउन १४ गते देखि बसेको आमरण अनशनमा शनिबार बिहान माइतीघर मण्डलामा वन तथा वातावरण मन्त्री शाहीले भेट वार्ता गरेका थिए ।