
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले यतिबेला देशमा देखिएका समस्याको मूल जड सरकार रहेको बताएका छन् ।
उनले सरकारले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको बताए । अहिले देशका सरकार भएको अनुभूति नै नरहेको उनको भनाई छ । उनले अहिले देश सरकारविहीनताको अवस्थामा रहेको जस्तो भान भइरहेको पनि बताए ।
‘यतिबेलाको समस्याका जड भनेको, समस्याको कारक भनेको सरकार नै हो । सरकार जनताको अभिभावक हो, अभिभावकको भूमिका उसले निभाउनुपर्छ । तर, यो देशमा सरकार छ भन्ने अनुभूति नै छैन । सरकारविहीनताजस्तो एकखालको असक्षमता सरकारले देखाएको छ । गैरजिम्मेवारीपन सरकारले देखाएको छ,’ उनले भने ।
नेता ज्वालाले सरकार जनताप्रति जवाफदेही बन्न नसकेको, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का अधिकांश मन्त्रीहरु भ्रष्टाचारमा मुछिएको र प्रधानमन्त्री र मन्त्रीहरु नाङ्गो तरिकाले घुसखोरी, भ्रष्टाचार र अनियमिततामा जोडिएको बताए ।
उनल भने, ‘सरकार काम कुरा एकतिर, कुम्लो बोकी ठिमीतिर भनेको जस्तै गर्नुपर्ने तमाम कामहरु छन् । भ्रष्टाचारका ठूला–ठूला घटनाहरु भइरहेका छन् । मन्त्रिपरिषद्भित्रका अधिकांश मन्त्रीहरु यतिबेला विवादमा छन् । भ्रष्टाचार, घुस, तमाम खालका घटनाहरुसँग जोडिएका छन् । प्रत्यक्ष रुपमा नाङ्गो तरिकाले मन्त्रीहरु घुसखोरी, भ्रष्टाचार, अनियमितता र अनेकथरी विवादमा जोडिएका छन् । सरकार आफ्नो तालमा बादल बजाइरहेको छ ।’
साथै, सरकार बनेको एक वर्ष नाघिसक्दा पनि प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक नगरेको उनले बताए । उनले प्रधानमन्त्री ओलीको नेतृत्वमा गठन भएको सुशास समितिलाई ‘कुशासन समिति’ को संज्ञा दिए । सरकारले कुशासनलाई प्रश्रय दिइरहेको घुसखोरीहरु छाती खोलेर हिँडिरहेको उनले बताए ।
‘त्यो सुशासन समिति हो कि कुशासन समिति हो मैले त संसद्मा त्यसको नाम कुशासन समिति राखेको छु । किनभने कुशासनलाई प्रश्रय दिइरहेको छ,’ उनले भने, ‘घुसखोरहरु छाती खोलेर हिँडिरहेका छन्, भ्रष्टाचारीहरु कहीकतै डराउन पर्दैन । भ्रष्टाचारीहरुलाई कारबाही हुँदैन । सरकार जनताप्रति जवाफदेही, जिम्मेवार होइन, सरकार केही निश्चित दलालहरु, नोकरशाहहरु, विचौलियाहरु,माफियाहरु, भूमाफियाहरु, तस्करहरुको सेवकको रुपमा यो सरकार रहेको छ ।’
उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘तस्करहरुको सरकार र कठपुतलीहरुको सरकार’ को संज्ञा दिए ।
‘तस्कहरुको कठपुतली सरकार रहेको छ । यो सरकार विचौलियाहरुको कठपुतलीजस्तो छ । यो जनताको सररकार होइन, कठपुतली सरकार हो, माफियाको सरकार हो । यसका धेरै तथ्यहरु, आधारहरु हामीसँग छन्,’ उनले भने ।
साथै, कांग्रेस–एमाले गठबन्धन सरकार बन्दाखेरी भएको सहमतिको बुँदामध्येको प्रमुख संविधान संशोधन अहिले बेबारिसे बनेको उनले बताए । सुशासन भदिने भनिएकोम अहिले जताततै अनियमितता र भ्रष्टाचार रहेको उनले बताए ।
‘उनीहरुले केही मुद्दाहरुसित सहमति गर्यौं भनेर नौटङ्की गरे । संविधान संशोधनको कुरा गरियो । संविधान संशोधनको मुद्दा यतिबेला बेवारिसे बनेको छ । कसैलाई मतलब नै छैन । सरकारलाई त्यो विषयमा कुनै सरोकार छैन । सुशासन दिने भनेर कमिटमेन्ट गरियो । सुशासनको हालत मैले भनिसके । जताततै घुसखोरी छ, अनियमितता छ, भ्रष्टाचार छ,’ नेता ज्वालाले भने ।
साथै, उनले वर्तमान सरकारको मुहान नै धमिलो रहेको बताए । प्रधानमन्त्री र मन्त्रीहरु नै भ्रष्टाचार, कमिशनखोरी, अनियमितता र घुसखोरीमा जोडिएको उनले बताए । देश यतिबेला भ्रष्टाचारको गन्धले दुर्गन्धित भएको उनको टिप्पणी छ ।
साथै, संसद्लाई सरकारले रबरस्ट्याम्प बनाउन खोजेको, दवाबमा राख्न खोजेको र आफ्नो अनुकूल प्रयोग गर्न खोजेको बताए । कतिपय महत्वपूर्ण विधेयकहरु सरकारले होल्ड गरेर राखेको उनले बताए ।
एक दुई वटा विषयबाहेक विद्यालय शिक्षा विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले टुङ्ग्याइसकेको अवस्थामा सरकारले सो विधेयक फुल हाउसमा नलैजाने षड्यन्त्र गरिरहेको उनले बताए ।
नेता ज्वालाले संघीय निजामती सेवा विधेयकमा पनि छलछाम र षड्यन्त्र भएको बताए । कुलिङ पिरियड हटाउने जस्तो गलत काम सरकारले गरिरहेको उनले बताए।
साथै, नेता ज्वालाले शिक्षा विधेयकजस्तो बहु सरोकारको विषय छाडेर अहिले भूमि विधेयक पास गर्न सरकारले ठूलो हतारो गरिरहेको बताए । सरकारले भूमि विधेयक एउटा निश्चित वर्गको स्वार्थमा ल्याएको उनको आरोप छ । साथै, जघन्य प्रकृतिका अपराधमा पनि आममाफी दिनेगरी सरकारले फौजदारी कानुनमा संशोधन गरिरहेको उनले बताए ।
साथै, सरकारको चासो भूमिहीन, सुकुम्बासी र घरबारविहीनलाई जग्गा दिनेतर्फ नरहेको उनको दाबी छ । भूमाफियालाई पोस्नेखालको भूमि विधेयक ल्याइएको उनले बताए । उनले वर्तमान सरकारलाई ध्रुबे हात्तीको संज्ञा दिए ।
‘अब अहिले दुईवटा ठूला दल मिलेर सरकार बनाएका छन् । म त भन्छु् यो दुईवटा ध्रुबे हात्तिजस्तै । हात्ती मिले पनि बालीको नाश, हात्ती लडे पनि बालीको नाश । अहिले उनीहरु मिलेर बालीको नाश गरिरहेका छन्,’ उनले भने ।
साथै, पार्टी अध्यक्ष माधव कुमार नेपाललाई प्रतिशोध साँधेर मुद्दा लगाइएको उनले बताए ।
‘हाम्रो पार्टीको अध्यक्षलाई लगाइएको मुद्दा षड्यन्त्रमूलक तरिकाले लगाइएको हो । राजनीतिक पूर्वग्रहले लगाइएको हो, प्रतिशोधका कारणले लगाइएको हो । यो हाम्रो पार्टीले, हामीले मात्रै भनिरहेका छैनौं । नेपाली कांग्रेसका, एमालेका पनि तमाम नेताहरुले भनिरहनुभएको छ । नागरिक समाजका मानिसहरुले भनिरहनुभएको छ । माधव नेपाल भ्रष्टाचार गर्ने मान्छे होइन । यस कारण उहाँलाई लगाइएको मुद्दा प्रतिशोधले लगाइएको हो, पूर्वाग्रहले लगाइएको हो । प्रतिशोधपूर्ण तरिकाले लगाइएको मुद्दाको हामी राजनीतिक प्रतिवाद गर्छौं । कानुनी रुपमा मुद्दा लगाइएपछि कानूनी उपचार खोज्छौं । माधव नेपालले भ्रष्टाचा गर्नुभएको छैन । भ्रष्टाचार भनेको चाहिँ आर्थिक लेनदेन हो । आर्थिक चलखेल हो । त्यो आर्थिक चलखेल गर्ने मान्छे उहाँ होइन,’ उनले भने ।