Harsamaya
देउवाको ‘मार्ग प्रशस्त’ सन्देश : लामा किन कोलाहलबीच झुक्न बाध्य हुँदैछन्?

काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेशभित्रको सत्ता सघंर्ष निर्णायक मोडमा पुगेको छ। सभापति शेरबहादुर देउवाले बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई बुढानीलकण्ठ बोलाएर स्पष्ट सन्देश दिएका छन् ‘लोकतान्त्रिक विधिबाट आएको परिणाम स्वीकार गरेर मार्ग प्रशस्त गर।’ यो निर्देशन केवल व्यक्तिगत आग्रह होइन । पार्टीभित्र लामो समयदेखि बढ्दै गएको असन्तुष्टि र सत्ता समीकरणको दबाबको परिणाम हो। 

 बागमती कांग्रेसभित्र लामाविरुद्धको असन्तुष्टि खुलेर देखा परेको छ। इन्द्रबहादुर बानियाँ समूहको प्रभाव बढ्दै जाँदा लामाको नेतृत्व कमजोर बनेको हो। देउवाले लामालाई दुवै पक्ष मिलेर जानूस भन्ने सुझाव दिएर पार्टीभित्र थप विखण्डन रोक्ने प्रयास गरेका हुन्। यसबाट स्पष्ट हुन्छ देउवाले लामालाई हटाएर पार्टीलाई एकीकृत सन्देश दिन चाहेका छन्। 

लामाले राजीनामा दिन अस्वीकार गर्दै समय ताने पनि बानियाँ पक्षले प्रदेश संसदीय दलमा आफ्नो वर्चस्व प्रमाणित गरिसकेको छ। यस्तो अवस्थामा लामाको पद जोगिने सम्भावना न्यून छ। देउवाले दिएको ‘लोकतान्त्रिक विधिको परिणाम स्वीकार’गर्ने सन्देश वास्तवमा लामा समूहलाई हार स्वीकार गरेर सहज बहिर्गमन गर भन्ने चेतावनी हो। 

 देउवासँगको भेटपछि लामा निकट स्रोतले भनेको छ, ‘मार्ग प्रशस्त गर्ने तयारी हो, तर साथीहरूसँग छलफल गरेर मात्रै निर्णय हुन्छ।’ यसले देखाउँछ लामा तत्काल पदत्याग गरेर ‘राजनीतिक शान’ गुमाउने मुडमा छैनन्। उनी दलभित्रको अन्तिम ‘सहमतिको प्याकेज’ खोज्दै छन्। बागमती काँग्रेसमा लामाको पद समाप्त हुँदै जानु निश्चितजस्तै छ। प्रश्न केवल शैलीको हो । लामा सहमति गरेर जान्छन् कि अवरोध मच्चाउँदै? देउवाले भने सङ्केत स्पष्ट दिएका छन्, ‘पार्टीभित्रको विवाद लम्ब्याएर केही फाइदा पाउँदैन।’

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update