-1754013264.jpg)
जनकपुर - सप्तरीको रूपनी गाउँपालिका– २ का बालेश्वर खंग र उनकी श्रीमती रामकुमारी खंगको करेन्ट लागेर मृत्यु भएपछि मधेश प्रदेश सरकारले गरेको नागरिक बिमा पीडित परिवारले पाउने गरी पहल सुरु गरेको छ । खंग दम्पतीको मृत्युपछि परिवारमा समवेदना व्यक्त गर्न मधेश प्रदेश सरकारको उच्चस्तरीय टोली घटनास्थल सप्तरीको रूपनी २ पौंवा टोल पुगेर बिमा सुविधाको लागि पहल सुरु गरिएको जानकारी दिएको छ ।
गत शुक्रवार साँझ सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा बालेश्वर खंगको मृत्यु भएको थियो भने उनलाई बचाउन गएकी उनकी श्रीमती रामकुमारी खंगको समेत करेन्ट लागेर मृत्यु भएको थियो । दैनिक मजदुरीमा जीवन निर्वाह गर्दै आएका खंग दम्पती पछाडि आश्रित परिवार छोडेर गएपछि शोकाकुल बनेको परिवारलाई सान्त्वना दिँदै प्रदेश सरकारले बिमाको पहल सुरु गरेको हो ।
खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित कुमार यादव, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश कुमार झा, मन्त्रालयका उपसचिव धर्मेन्द्र लाल कर्ण र बिमा कम्पनीका प्रतिनिधि समेतको टोली रूपनी गाउँपालिका–२ स्थित खंग परिवारको घर पुगेको थियो ।
टोलीले पीडित परिवारसँग भेट गरी घटनाको जानकारी लिएको थियो भने मृतक दम्पतीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति गहिरो समवेदना प्रकट गरेको थियो। टोलीले खंग परिवारलाई मधेश प्रदेश सरकारले यो वर्ष साउन १ गतेदेखि लागू गरेको नागरिक बिमा कार्यक्रम अन्तर्गत बिमा सुविधा प्राप्त गर्न सकिने जानकारी गराउँदै आवश्यक कागजात सङ्कलन सुरु गरेको जनाएको छ ।
साथै, प्रक्रिया सहज बनाउन स्थानीय तह र सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको टोलीले स्पष्ट पारेको छ ।