Harsamaya
भदौ ८ गते मैना सुनुवार हत्या प्रकरणमा फौसला सुनाउँदै सर्वोच्च

काठमाडौं - सर्वोच्च अदालतले आगामी भदौ ८ गते २०६० सालमा सशस्त्र द्वन्द्वकलामा नेपाली सेनाबाट हत्या गरिएकी काभ्रेकी मैना सुनुवारको हत्या मुद्दामा  निर्णय सुनाउने भएको छ । गत असार २२ गते सर्वोच्च अदालतका न्यायाधीशहरू हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाइ सकिएसँगै भदौ ८ गतेलाई निर्णय सुनाउने मिति (निसु) तोकेको हो । 

२०७४ वैशाख ३ मा १५ वर्षीय किशोरी मैना सुनुवारको हत्यामा दोषी ठहर्‍याउँदै काभ्रे जिल्ला अदालतका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले महासेनानी बबी खत्री, सहसेनानीहरू अमिल पुन र सुनिलप्रसाद अधिकारीलाई जन्मकैदको फैसला सुनाएको थियो  । 

काभ्रे जिल्ला अदालतको उक्त फैसला  विरुद्ध  सेना प्राड विभागका तर्फबाट सहसेनानी सरोज रेग्मीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । नेपाली सेनाले जिल्ला अदालतको फैसला खारेजीको माग गर्दै मुद्दा दायर गरेसँगै २०८० भदौ ७ गते मैनाकी आमा देवी सुनुवारले सेनाका तीन अधिकारीलाई विपक्षी बनाउँदै कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गराएकी थिइन् । दुवै निवेदनलाई एक साथ राखेर सर्वोच्चले सुनुवाइ गर्दै आएको थियो। सङ्क्रमणकालीन न्यायसम्बन्धी व्यवस्था विपरीत जिल्ला अदालतले मुद्दा फैसला गरेको भन्दै सहसेनानी रेग्मीले फैसला खारेजीको माग गरेका थिए । 

उक्त  प्रकरणमा चौतर्फी विरोधसँगै गम्भीर मानवअधिकार उल्लङ्घन भएको भन्दै प्रश्न उठेपछि नेपाली सेनाले छानबिन गर्न बोर्ड गठन गरेको थियो । महासेनानी मोहनबहादुर बस्नेतको संयोजकत्वमा गठित तीन सदस्यीय बोर्डले चार बुँदे निष्कर्ष निकालेको थियो ।  छानबिन बोर्डको रायपछि २०६२ भदौ २३ मा सैनिक अदालतले पनि ती  अधिकारीलाई कारबाही गरेको थियो । 

२०६० फागुन ५ गते काभ्रे पाँचखालबाट सेनाको टोलीले मैना सुनुवारलाई घरबाट पक्राउ गरेको थियो । वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालबाट गएको सेनाको टोलीले काभ्रे खरेलथोक-६ की देवी सुनुवारलाई घरमा नभेटेपछि १५ वर्षकी छोरी मैनालाई पक्राउ गरेर ब्यारेकमा लिएर गएको थियो । सैनिक टोलीले छिमेकीहरूलाई मैनालाई लिन काभ्रेको लामिडाँडा आउनू भनी निर्देशन दिएका थिए । सैनिक टोलीले अनाहकमा १५ वर्षीय किशोरीलाई पक्राउ गर्नुको कारण बताएको थिएन । तर सैनिक ब्यारेकमा पुर्‍याइएकी मैनालाई सेनाले पानीमा डुबाएर करेन्ट लगाएर चरम यातना दिएर हत्या गर्‍यो । 

 

 

 

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update