
जनकपुर - मधेश प्रदेशमा उत्पन्न सिचाई तथा खानेपानीको समस्या बारे नेपाली काँग्रेसका जनप्रतिनिधि तथा नेता कार्यकर्ताहरूले मधेश प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवलाई ध्यानाकर्षण गराएका छन् ।
गत केही दिनदेखि मधेसका विभिन्न जिल्लामा सिँचाइ र खानेपानी अभावले जनजीवन कष्टकर बन्दै गएकाले तत्काल समस्या समाधान गर्न माग गर्दै बिहीबार नेपाली काँग्रेसका सह-महामन्त्री महेन्द्र यादवको नेतृत्वमा कांग्रेस आबद्ध जनप्रतिनिधि तथा नेता कार्यकर्ताहरू सहितको डेलिगेसन टोलीलेले ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री यादवलाई ध्यानाकर्षण गराएका हुन ।
सह महामन्त्री यादवले मधेश प्रदेशका जिल्लाहरूमा विकट समस्या उत्पन्न भएकाले तत्काल सिचाई तथा खानेपानीको उपलब्ध गराउनुका साथै सबै ठाउँमा नयाँ बोरिङ जडान हुन नसके पनि गत वर्षमा जडान भएका वा पुराना रहेका अधुरा बोरिङहरूलाई चालु गराउन माग गरे ।
टोलीमा सहभागी प्रदेश सांसद कुमरकान्त झाले सुख्खा र खडेरीले अन्नको भण्डार भनिने मधेश प्रदेशमा चरम सङ्कट उत्पन्न भएको छ । समयमै यसको समाधान गरिएन भने आम जनता खाना र पानीका आभामा मर्ने अवस्था आउन सक्छ । त्यसको दृष्टिगत गर्दै प्रदेश सरकारले तत्कालै ठोस कदम चाल्न जरुरी छ ।
बैठकमा सहभागी प्रदेश सरकारका तर्फबाट मन्त्रालयका निमित सचिव रामकुमार खंगले मधेश सरकारसँग पर्याप्त बजेट आभाव र अर्थ मन्त्रालयबाट रकम आउन नसकेको कारण तत्काल समस्या समाधान गर्न नसकिरहेको जानकारी गराउँदै अर्थ मन्त्रालयबाट रकम आउन बित्तिकै सकेसम्म समस्या समाधान गरिने प्रतिबद्धता जनाए ।
साथै उनले सङ्घीय सरकारले घोषणा गरेको ५ सय बोरिङ जडानको प्याकेज आउन बित्तिकै काम धमाधम सुरु गरिनेछ । अधुरा योजनाहरू बारे टोलीमा सहभागीहरूले राखेको कुरामा सचिव खंगले सङ्घीय सरकारको ३७१ वटा खानेपानीको आयोजना अधुरो रहेको छ । तर कम बजेट पठाएको कारण सबै सम्पन्न गर्न सक्ने अवस्था नरहेको जनाएका थिए ।
टोलीमा सहभागीहरूको कुरा सुन्दै मन्त्री यादवले भने हामी तयारी अवस्थामा छौँ । अर्थ मन्त्रालयले रकम पठाए लगतै सके जति बोरिङ जडानको कार्य सुरु गर्नेछौँ । अर्थ मन्त्रालयले रकम नपठाए पनि उत्पन्न खानेपानी समस्याको दृष्टिगत तत्काल खानेपानी डिप बोरिङ जडानको कार्य थालेका छौँ । तर यसले समस्या समाधान हुने अवस्था छैन ।
प्रदेश सरकारबाट जडान गरिएका बोरिङहरू पनि अधुरा अवस्थामा रहेको बारे मन्त्री यादवले भने गत वर्ष अर्थ मन्त्रालयबाट ढिलो गरी रकम पठाएकाले धेरै बोरिङहरू अधुरै रहन गएको हो । तर रकम चाहिँ जति काम भएको छ त्यतिकै नै भुक्तानी गरेका छौँ । गत वर्षका र पुराना अधुरा योजना पुरा गर्न अनुगमन टोली खटाइ सकेका छौँ । अर्थ मन्त्रालयबाट रकम आए लगतै पहिला त्यसलाई प्राथमिकतामा राखी काम अघि बढाउनेछौँ ।
सो डेलिगेसन टोलीमा सहमहामन्त्री यादव र प्रदेश सांसद झा सँगै अर्का प्रदेश सांसद अन्जु पण्डित, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, मिथिला नगरपालिकाका वडाध्यक्षहरू सहित नेपाली काँग्रेसका नेता श्याम यादव, मदन घिमिरे लगायतका दर्जनौँ नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।