Harsamaya
बजेट विवाददेखि नेतृत्व उल्टिनेसम्म : कांग्रेस बागमती संसदीय दलमा इन्द्रबहादुर बानियाँको पुनरागमन
इन्द्रबहादुर बानियाँ र बहादुरसिं लामा ।

हेटौंडा  - नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा नेतृत्व परिवर्तन भएको छ। बुधबार सम्पन्न निर्वाचनमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ २२ मत ल्याएर संसदीय दलको नेतामा निर्वाचित भएका छन्। उनी मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामा तामाङलाई पराजित गर्दै दलको बागडोर आफ्नो हातमा लिन सफल भएका हुन्।

३७ सदस्यीय संसदीय दलमा २२ मत विपक्षमा खसेपछि उनको दल नेतृत्व धराशायी भएको हो। एक मत बदर भएको थियो। आफ्नै गुटका सांसदहरू विपक्षमा उभिएपछि लामाको हैसियत कमजोर हुँदै गएको थियो।

बजेट विनियोजनको विषयलाई लिएर लामाको पक्ष र विपक्षबीच विवाद चुलिएको थियो। आफ्नो पक्षका सांसदहरूले समेत असन्तुष्टि जनाएपछि बानियाँले साउन ९ गते संसदीय दलमा लामा विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। यही असन्तुष्टि बुधबारको निर्वाचनमा पनि प्रष्ट देखियो।

यो बानियाँ र लामाबीचको दोस्रो संसदीय दल नेतृत्व प्रतिस्पर्धा हो। २०७९ पुसमा भएको निर्वाचनमा लामाले २१ मत पाउदा बानियाँ १६ मतमा सीमित भएका थिए। साढे दुई वर्षमै बानियाँले नतिजा उल्ट्याउँदै दलको नेतृत्व फिर्ता ल्याए। बानियाँ र लामा दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षकै हुन्।

संसदीय दलको नेतृत्व गुमेपछि मुख्यमन्त्री लामाको पद धरापमा परेको छ। यद्यपि उनले आफू गठबन्धनको साझा सरकारको मुख्यमन्त्री भएको दाबी गर्दै तत्काल राजीनामा नदिने संकेत दिएका छन्।  ‘यो गठबन्धनको सरकार हो। संवैधानिक प्रक्रिया अनुसार अघि बढ्छु,’ लामाले भनेका छन्।

दलको नेतृत्व परिवर्तनसँगै बागमतीमा सत्ता समीकरण फेरिन सक्ने संकेत देखिएको छ। कांग्रेसभित्र नेतृत्व परिवर्तनले गठबन्धनसँगको सम्बन्ध कस्तो रहने भन्ने प्रश्न खडा भएको छ। एमालेले लामालाई नयाँ मन्त्री नियुक्त नगर्न सुझाएपछि उनले बुधबारको मन्त्रिपरिषद् विस्तारको निर्णय फिर्ता लिएका थिए। यसले पनि गठबन्धनभित्रको असन्तुलन प्रष्ट देखाएको छ।

बजेट विवादबाट सुरु भएको असन्तुष्टि नेतृत्व परिवर्तनसम्म पुगेको छ। बानियाँको पुनरागमनले कांग्रेस बागमतीभित्र शक्ति सन्तुलन फेरिएको छ भने लामाको मुख्यमन्त्री पद अब गठबन्धन र आन्तरिक समीकरणले निर्धारण गर्ने देखिन्छ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update