
काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।
जसको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यस्तै आज राति देशको पहाडी भूभागमा साधारणतया बदली रहि तराई भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।