Harsamaya
केही मुठ्ठीभरका दलालले राज्य कब्जा गरेका छन् : प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा व्याप्त दलाल पुँजीवाद र भ्रष्टाचारविरुद्ध एकताको आह्वान गरेका छन् ।

शनिबार राजधानीमा आयोजित पुष्पलाल जन्म शताब्दी तथा ४७ औँ स्मृति दिवसका अवसरमा आयोजित ‘निर्वासन’ कृतिको लोकार्पण समारोहमा बोल्दै प्रचण्डले पुष्पलाललाई एकताको केन्द्रबिन्दु बनाउँदै कम्युनिष्ट एकता गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘बितेका र राम्रो काम गरेका नेताहरूमध्ये पुष्पलाल मात्रै त्यस्ता नेता हुन् जसलाई सबैले सम्मान गर्छन् र उहाँको इतिहास अध्ययन गर्छन् । पुष्पलाललाई केन्द्रमा राखेर, उहाँलाई नेता मानेर एकताको प्रयास गरौँ । अब अरुको आधारमा एकता हुने अवस्था छैन । म आफैँ त्यसको जिउँदो प्रमाण हुँ ।’

देशमा दलाल पुँजीपतिको वर्चस्व बढ्दै गएको उल्लेख गर्दै प्रचण्डले केही मुठ्ठीभर पुँजीपतिहरू र बिचौलियाहरूले राज्य र अर्थतन्त्रलाई ध्वस्त पारिरहेको आरोप लगाए ।

‘नेपालमा अहिले दलाल पुँजीपतिहरू र बिचौलियाहरूले राज्य कब्जा गर्दै छन्,’ उनले भने, ‘आजको विकास र समृद्धिको यात्रामा मुख्य बाधक यही हो । अवस्था दयनीय छ । संघीय निजामती विधेयकमा भएको छेड छाड लाजमर्दो थियो, जसले सांसदहरूलाई समेत अपमानित गरायो ।’

उनले अहिलेको सङ्कटको समाधानका लागि भ्रष्टाचार, दलाल पुँजीवाद र बिचौलिया प्रवृत्तिविरुद्ध सम्पूर्ण शक्तिहरू एक हुने सङ्कल्प गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘आज भोलि दयनिय स्थिति छ । अस्ति भर्खरै संघीय निजामती विधेयक माथि छेडखानी सबै सांसदहरू अपमानित हुने गरी चलखेल र छेडखानी कसले गर्‍यो ? अहिले भ्रष्टाचार, दलाल पुँजीवादका विरुद्ध सम्पूर्ण एक हुने सङ्कल्प गरौँ र कम्युनिष्ट एकता पनि त्यहिँबाट सुरु हुन सक्छ ।’

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update