
चितवन - चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका हुन् ।
सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । त्यसैगरी हात्तीको आक्रमणबाट दुई र बाघको आक्रमणबाट एक जनाले ज्यान गुमाएको उनले बताए । सोही अवधिमा वन्यजन्तुको आक्रमणबाट ४१ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते ३२ र सामान्य घाइते नौ जना छन् ।
वन्यजन्तुबाट मृत्यु हुनेमा अधिकांश घाँस काट्न र निगुरो टिप्न गएका व्यक्ति छन् । बाघ, गैँडा, हात्ती, जङ्गली बँदेल, मगरगोही, गौरीगाईलगायत वन्यजन्तुको आक्रमणबाट मानिसहरूको मृत्यु भएको निकुञ्जले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो पाँच वर्षमा जङ्गली जनावरको आक्रमणबाट ७३ जनाले ज्यान गुमाइसकेका छन् । सोही अवधिमा वन्यजन्तुको आक्रमणमा परी १६९ जना घाइते भएका छन् । उनका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा आव २०७८/२०७९ मा सबैभन्दा धेरै ३० जनाले ज्यान गुमाएका थिए । सो वर्ष बाघको आक्रमणबाट मात्रै २१ जनाको मृत्यु भएको थियो ।