Harsamaya
रसुवा बाढीका कारण चीनमा अलपत्र परेका २०३ नेपाली तातोपानी नाका हुँदै फर्किए
चीनमा अलपत्र परेका नेपालीहरू स्वदेश फर्किए ।

सिन्धुपाल्चोक - रसुवामा आएको बाढीका कारण चीनमा अलपत्र परेका नेपालीहरू स्वदेश फर्किएका छन् । तातोपानी नाका हुँदै बुधबार २०३ नेपाली स्वदेश फर्किएका हुन् । 

गत असार २४ गते नेपाल–चीन सीमानामा रहेको ल्हेन्दे खोलामा आएको बाढीका कारण उनीहरु चीनतर्फ फसेका थिए ।

तातोपानी नाकाबाट नेपाल आएका उनीहरुलाई सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र पूर्वअरनिको यातायात समितिले बसको व्यवस्था गरेको थिए । 

काठमाडौं ल्याउनका लागि ७ वटा बसको व्यवस्था गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले जानकारी दिए । बाह्रबिसे नगरपालिकाले चार वटा गाडीको व्यवस्था गरेको थियो भने बाँकी तीन वटा पूर्वअरनिको यातायात समितिका अध्यक्ष केदार क्षेत्रीले मिलाएको उनले बताए । 

उनीहरूलाई भोटेकोशी गाउँपालिकाले खानपिनको व्यवस्था गरेको थियो । फर्किएकाहरुको भोटेकोशी गाउँपालिकाले नाकामा स्वास्थ्य परिक्षणसमेत गरेको थियो । 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update