
‘चन्द्रलाई कसले मार्यो?’कुनै हत्या अनुसन्धानको ‘थ्रिलर’ होइन - यो एक प्रश्न हो। चन्द्रको मृत्युको बहानामा दर्शकलाई एउटा गहिरो मानसिक संसारमा लैजाने प्रयास हो । जहाँ सम्बन्ध, दबाब, आत्म-अन्वेषण, मानसिक स्वास्थ्य र ‘क्वियर’ पहिचानजस्ता संवेदनशील विषयहरू उजागार हुन्छन्। कुनै पर्दामा नदेखाइएको, नसुनेको र नजानेका कुरा निकै मार्मिक शैलीमा प्रस्तुत गर्दछ । कति बेला नाटकले रूवाउँछ, हसाउँछ, नचाउँछ त्यो दर्शकलाई पत्तो नै हुँदैन । नेपाली संस्कृति गाइजात्रा समेतलाई यसको अन्त्यमा निकै मार्मिक ढंगले देखाएको छ । कथा मात्र होइन संस्कृतिसमेत झल्काएको छ ।
नाटक एउटा नाम मात्रको ‘हत्या’को कथा होइन । यो ‘हराएको चन्द्र’ को मानसिक, भावनात्मक र सामाजिक खोज हो। चन्द्र कसरी हरायो? उसलाई कसले मारेको हो? वा उसले आफूलाई नै मारेको हो? नाटकको संरचना परम्परागत ‘क्लाइम्याक्स–एन्डिङ’ ढाँचाभन्दा फरक छ। पूर्वीय दार्शनिक सोचअनुसार पुनर्जन्मको चक्र, सम्बन्धको पुनरावलोकन र पात्रहरूको अन्तरद्वन्द्व नाटकको बनोट हो।
यस नाटकले विशेषगरी डिप्रेसन, सेल्फ-हाम, एलवीबीटीक्यूआई प्लस प्लस (LGBTQI++) समुदायको आत्मसंघर्ष, अनि समाजका ‘अनदेखा’ भावनात्मक घाउहरूलाई उठाएको छ।
चन्द्रलाई कसले मार्यो भन्ने नाटक किन हेर्ने ?
यो मण्डला थियटरको उत्कृस्ट १३ नाटक मध्येको एक हो । जुन २०८२/८३ को सिजनमा मन्चन भइरहेको छ । यसमा केही विशेष छ भन्ने कुरा बुझ्न जरुरी छ । किनकी मण्डला थिएटर आजको समयमा नेपाल कै ठूलो रंगकर्मीको गन्तव्यस्थल भन्दा फरक पर्दैन । यो नाटक हामीले देख्दै आएको, सुन्दै आएको, भोगेको भन्दा फरक कथावस्तुमा तयार गरिएको छ। निर्देशकले यस नाटक निकै फरक शैलीमा प्रस्तुत गरेका छन् । यो सामाजिक घटनामा आधारित हो तर लुकेको कथामा निर्माण भएको छ ।
यो नाटकले कुनै पनि फिल्महरूमा, सिरिज, टेलिश्रृखंलामा नदेखाइएको चिज यो नाटकले देखाउन खोजेको छ । एकदम ठूलो सन्देश सामाजमा दिन खोजिएको छ । यसले ‘क्वियर कम्युनिटि’को लागि , उहाँहरुको रक्षाका निम्ति बोलेको छ । सरकार नाङ्गो भएता पनि निर्देशकले आफ्नो नाटकमा निकै मार्मिक ढंगले ‘क्वियर कम्युनिटि’ ले भोगेका यथार्थ सरल र मनोरञ्जनात्मक हिसाबले प्रस्तुत गरेका छन् । दर्शकलाई यसको कथावस्तुमा भिजाउन यो नाटक सफल भएको छ । नाटकमा गीत संगीत पनि छन् जसबाट दर्शकले भरपुर मनोरञजन लिएका छन् ।
कलाकारका भूमिका कस्तो छ त् ?
नाटकमा आठ जना कलाकारले बहुपात्र अभिनय गरेका छन्। अनुभवी कलाकार सिता देवी तिमल्सिना आमाको भूमिकामा देखिएकी छिन् । आफ्नो सन्तानप्रतिको आमाको मायाले दर्शकलाई रूवाएको छ । सन्तान जस्तो भएपनि आमाका लागी विशेष हुन्छ । त्यस्तै चन्द्रको आमाले समाजको मूल्यमान्यता तोडेर घुडा टेक्न बाध्य हुन्छिन् । तिमल्सिनाको उत्कृष्ट अभिनयले नाटकको अन्त्यमा अझै वजन थपेको छ ।
सबै कलाकारहरूको अभिनयमा ‘इमोशनल डेप्थ’ र चरित्र विविधता देखिन्छ। यसमा देखिने हरेक पात्रको भूमिकाले कुनै न कुनै सन्देश बोकेको छ । पछाडि पर्दामा देखाइएको सव-टाइटलसंग अलिकति पनि फरक नपर्ने गरी समयमै नाटक सम्पन्न गरिएको छ । कोठा भित्रको अभिनय सशक्त ढंगमा प्रस्तुत गरिएको छ । अगाडि पर्दामा हुने कलाकार र पछाडि देखिने कलाकारहरुले जीवन्त अभिनय गरिरहेका छन् । पात्र छनोट मिलेको छ ।
‘चन्द्रलाई कसले मार्यो?’ केवल क्वियर समुदायको कथा होइन, यो सम्पूर्ण समाजको कथा हो । जहाँ ‘सुन्ने बानी छैन, बोल्न सक्ने आत्मबल छैन’ भन्ने यथार्थ झल्किन्छ। नाटकले आत्महत्या जस्तो गम्भीर विषयलाई आरोपमुक्त तर गहिरो ढंगले प्रस्तुत गरेको छ।
नेपाली थिएटरमा भोगाइ, यौनिकता र मानसिक स्वास्थ्यका विषयमाथि यति नजिकबाट गरिएको कलात्मक अध्ययन दुर्लभ छ। ‘चन्द्रलाई कसले मार्यो ?’ एउटा नाटक मात्र होइन - यो समाजले नदेखेझैँ गरेका आवाजहरूको प्रतिनिधित्व हो। जो सोच्न, महसुस गर्न र आफूलाई चिन्न चाहन्छन्, तिनका लागि यो नाटक अत्यावश्यक अनुभव बन्न सक्छ।
हेर्नुहोस् तस्विरहरु :-