
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सिया ओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबिचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको दुुई पक्षीय चार समझदारी र विगतमा दुई मुलुकबिच उच्चस्तरीय भ्रमणका अवसरमा भएका विकास सहकार्यका सम्झौताको कार्यान्वयनलगायत विषयमा विचार विमर्श भएको छ । प्रधानमन्त्री ओलीले नेपाल र चीनबिच लामो र मित्रवत् सम्बन्धको चर्चा गर्दै नेपाल एक चीन नीति प्रतिबद्ध रहेको बताए ।
उनले हालैको आकस्मिक बाढीका कारण ध्वस्त रसुवागढी नाकामा आवश्यक संरचना निर्माणमा चीनले दिएको प्राथमिकताका लागि धन्यवाद दिँदै नेपाली पक्षबाट पनि आवश्यक तदारुकता दिइएको बताए । उनले नेपाललाई भूपरिवेष्टितबाट भूजडित बनाउन चीनसँगको किमाथांक लगायत अन्य नाकाहरूको सञ्चालन र ‘बेल्ट एन्ड रोड इनिसियटिभ फ्रेम वर्क’ अन्तर्गतका परियोजनाको सञ्चालन विना अवरोध अघि बढ्नुपर्नेमा जोड दिए ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, नेपालका लागि चीनका राजदूत चेन सोङ र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।
सो प्रतिनिधिमण्डलले सोमबार विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाका बारेमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको थियो भने सोही अवसरमा चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।