
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले नेकपा एमालेका सांसदहरुले राष्ट्रियसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक भएको बताएका छन् ।
गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मति विपरीत यसरी आफ्ना सांसदहरुलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका भएको उनले बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शेखरले नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्ने बताए । उनले सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिन नहुने पनि बताए ।
‘नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न । कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही दुविधामा नपरे हुन्छ’, उनले लेखेका छन् ।