
काठमाडौं - नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबिच आज एकता घोषणा हुँदै छ । गत शुक्रबार एकता सम्बन्धी सहमति पत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले हस्ताक्षर गरेका थिए । अभियानका संयोजक वामदेव गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच सहमति भएबमोजिम आज एकता घोषणा हुन लागेको हो ।
पाँच वर्षअघि नेकपा विभाजन भएर एमाले र नेकपा माओवादी हुँदा कतै पनि नलागी नेकपा एकता अभियान थालेका गौतम अन्ततः नेपाल नेतृत्वको समाजवादीमा समाहित हुन लागेका हुन् । गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ नेता दिने सहमति भएको छ भने हाल एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल पहिलो वरीयता र नेता झालनाथ खनाल दोस्रो वरीयतामा रहेका छन् । गौतम खनालपछिको वरीयतामा हुनेछन् ।
यस अगाडि नै गौतम नेकपा एकीकृत समाजवादी जान खोजे पनि त्यस वेला गौतमले मागेको पद एकीकृत समाजवादीले दिन आनाकानी गरेपछि एमालेमा जान छलफल चलाएका थिए ।
२०७८ सालमा नेकपा एमाले विभाजित भएपछि गौतम ओलीसँग असन्तुष्ट बन्दै सोही पार्टी छाडेका थिए । त्यही बेला माधव नेपाल एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए ।