भक्तपुर - भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ स्थित निलबाराही मन्दिर धार्मिक, पुरातात्त्विक र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण छ । काठमाडौं उपत्यकामा रहेका चार बाराही मध्ये सबैभन्दा महत्त्वपूर्ण धार्मिक स्थलका रूपमा यसलाई लिइन्छ । तर एक दशक देखी उक्त मन्दिर पहिरोको उच्च जोखिममा छ । पहिरो रोकथामका लागि स्थानीय सरकार र सम्बन्धित निकायले ठोस पहल नगरेपछि अहिले स्थानीयहरूले श्रमदान गरेर पहिरो नियन्त्रणको काम गरिरहेका छन् ।
वर्षा सुरु भए लगत्तै मन्दिर परिसरमा पहिरो जाँदा वर्षेनि जोखिम बढ्दो छ । मन्दिरको दक्षिण–पश्चिम क्षेत्रमा पहिरो बढ्दै जाँदा बाटो साँघुरिएको छ भने यसले सवारीसाधन आवात–जावतमा समेत प्रभाव पारेको छ । गत जेठ ३ गते निलबाराही क्षेत्र संरक्षण सरोकार समिति गठन गरी हरेक हप्ता शनिबारलाई श्रम बार भनेर घोषणा गर्दै सुरु भएको अभियानको नवौँ हप्ता पूरा भएको छ ।
स्थानीय, प्रदेश र केन्द्र सरकारलगायतका निकायले बेवास्ता गरेपछि अभियान नै सुरु गरी श्रमदान गरेर ९ हप्तादेखि काम गर्दै आइरहेको समितिका सचिव अनिश वैद्य बताउँछन् । उनले भने, ‘निलबाहारी क्षेत्र संरक्षण गर्ने हिसाबले अभियान गरेका हौँ । विगत एक दशक यता यस क्षेत्रमा भूक्षयले मन्दिर नै खस्न लाग्यो । स्थानीय सरकार केन्द्र सरकार लगायतका निकायहरूले वास्ता नगरेपछि हामी जनस्तरबाटै गरौँ भनेर सुरु गरेका छौ । हामीले जन सरोकार समिति काम गरिरहेका छौँ । मन्दिर परिसरको एउटा मात्र नभई १३ वटा पहिरो रोकथाम गर्नुपर्ने छ । जसमध्ये श्रमदानबाटै पाँच वटा पहिरो रोकथाम गरी ३० प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।
हरेक हप्ता शनिबार लाई श्रम बार भनेर घोषणा गरिए पनि अबदेखि हप्ताको तीन दिन सोमबार बुधबार र शनिबार पनि श्रम दान गर्ने योजना छ । अभियानको नवौँ हप्ता पुग्दा पनि पहिरो नियन्त्रणमा नगरपालिका प्रशासनको भूमिका कमजोर देखिएको छ । मन्दिर परिसर वन उपभोक्ता समिति अन्तर्गत छ तर उपभोक्ता समिति आफैँ अव्यवस्थित अवस्थामा रहेको छ ।
उनले भने, ‘हामीले स्थानीय सरकारसँग पहिलेदेखि नै कुरा राख्दै आएका हौँ । २०७६ सालदेखि नै भनिरहेका छौँ र उहाँहरूले यो वर्ष चाँही गर्छौ भन्दाभन्दै बर्षौँ बिताउनुभयो तर गर्नुभएन । टार्ने काम मात्र भयो । हामीले यो काम माघमा नै गर्ने भनेको थियौँ उहाँहरूले टार्दै वैशाखसम्म ल्याइपुर्याएपछि समिति बनाएर काम सुरु गर्यौँ । दुःखको कुरा आजसम्म पनि स्थानीय र केन्द्रीय सरकारले सहकार्यको कुनै पनि पहल गरेको छैन । यो वन उपभोक्ता समिति अन्तर्गत रहेछ । तर त्यो पनि उपभोक्ता समिति पनि लथालिङ्ग छ ।’
आफ्नै खल्तीबाट पैसा हालेर समितिले सुरु गरेको अभियान नवौँ हप्तासम्म आइपुग्दा ७७ लाखको उल्लेखनीय आर्थिक सङ्कलन भइसकेको छ । अधिकांश अत्यावश्यक सामग्रीहरू सहयोगको रूपमा आउने गर्छन् भने ढुवानी र केही किन्नुपर्ने सामग्रीमा मात्र खर्च हुने गरेको छ । यही फागुनभित्र निर्माण सम्पन्न गरी जात्रा चलाउने उद्देश्य सहित उनीहरू लागी परेका छन् ।
उनले भने, ‘सुरुमा जनसरोकार समितिबाट हामीले आफ्नो गोजीबाट जति सक्छौ नगद दान गरेका थियौ । हाम्रो सङ्कलन ७७ लाख भएको छ । ५०÷५५ लाख हामीसँग जगेर्ना छ । अहिले बढि खर्च माटोमा छ, १८ वटा गाडीले माटो ओसारी रहेको छ । बाँस, बोराहरू, औजारहरू किनेका छैनौ । अनुदानकै रूपमा आएको छ । हाम्रो इन्धन र गाडी भाडाहरू बाहेक अन्त खर्च भएको छैन । हाम्रो उद्देश्य भनेको यो मन्दिरको आवतजावतको वास्तविक बाटोमा पहिरो गएको छ त्यसलाई यही फागुनभित्रमा निर्माण गरी जात्रा चलाउने लक्ष्य छ ।’
श्रमदाताहरूको उपस्थिति पनि उत्साहजनक नै छ । यहाँ भक्तपुरबाट मात्र नभई ललितपुर र काठमाडौंबाट पनि श्रमदानका लागि पुगेका छन् ।
श्रमदानमा जुटेकी हेमा प्रजापति बिहान ५ बजेनै मन्दिर मा पुग्छिन् । मन्दिर परिसरभित्र आवत–जावत गर्ने बाटो जोखिममा देखेपछि उनी श्रमदानमा आएकी उनले निलबाराहीको बाटो संरक्षणको निम्ति सबैले एकजुट भएर श्रमदान गर्न आव्हान समेत गरिन् । यस्तै, अर्का स्थानीय लक्ष्निाथ थाले हरेक हप्ता गएर श्रमदान गरिरहेका छन् पहिरोका कारण मन्दिर नै भत्किने अवस्था आउँदा पटक पटक चोटि नगरपालिकामा निर्माणको लागि निवेदन पेस गरे पनि बेवास्ता गरेको उनको गुनासो छ ।
श्रमदाताहरूलाई सेवा दिने उद्देश्यले विनायक स्कुलले स्काउटका विद्यार्थी संलग्न गराउने गरेको छ । आफ्नो वरिपरिका वस्तुहरूको कसरी संरक्षण गर्ने मात्रै नभई राष्ट्रको संरक्षण कसरी गर्ने भन्ने शिक्षा दिनको लागि विद्यार्थीलाई समेत सहभागी गराएको शिक्षिका सानु चक्र रले जानकारी दिइन् ।
उनले भनिन्, ‘निलबाराही मन्दिरमा श्रमदान गर्न आएका छौँ । विनायक स्कुलका स्काउटका विद्यार्थीले पनि सकेको सहयोग गरिरहेका छन् । सबै जनालाई आएर सहयोग गरिदिनु हुन आग्रह गर्दछु । स्काउटका विद्यार्थीहरूले पनि पानीहरू दिएर, डोरीहरू काटिदिने जस्ता काम गरेर सहयोग गरिरहेका छन् । सामाजिक कार्यहरूमा कसरी संलग्न गराउने, आफ्नो वरिपरि रहेका वस्तुहरूको कसरी संरक्षण गर्ने मात्रै नभई राष्ट्रको संरक्षण गर्ने भनेर सिकाउनका लागि विद्यार्थीहरू लिएर आएको हो ।’
यसै गरी विनायक स्कुलको कक्षा ६ मा अध्ययनरत स्काउटका विद्यार्थी सुभान श्रेष्ठले यस्तो सामाजिक कार्यमा आफूले सक्ने सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए । त्यस्तै कक्षा ८ मा अध्ययनरत विद्यार्थी साना श्रेष्ठले पनि श्रमदानमा भोलेन्टियरिङ्ग गर्न पाउँदा खुसी व्यक्त गरिन् ।
पुरातात्त्विक हिसाबले २४ सय वर्ष पुरानो मन्दिर, निलबाराहीमा वर्षको दुई पटक खट बोकेर जात्रा निकालिन्छ र बिस्केट जात्रा हुन्छ । त्यस्तै बोडेको जिब्रो छेड्ने जात्रा यही जङ्गलसँग सम्बन्धित छ । यहाँको देवता चोरेर जाँदा सजाय पाएको रूपमा जिब्रो छेड्ने गरिन्छ ।
पुरातात्त्विक, धार्मिक, सांस्कृतिक, वातावरणीय महत्त्व भएको यो ठाउँको संरक्षण सरकारको बेवास्ता साँच्चीकै लज्जास्पद छ । जनस्तरमा चासो देखिएको छ तर जति बेवारिसे परिसर छ त्यसको संरक्षणको लागि यही पर्याप्त होइन, त्यसैले यसको संरक्षणमा स्थानीय निकाय वा सरोकारवालाहरूको ध्यान जान जरुरी छ ।
..........................