
मधेस - मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।
सोमबार बसेको मधेश प्रदेश सभाको बैठकबाटआगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको हो ।
मधेश प्रदेश सरकारको अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते प्रदेशसभामा ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत भएदेखि प्रमुख प्रतिपक्षले बजेटमा बिचौलिया हावी भएको भन्दै बजेट पुनर्लेखन गर्नुपर्ने मागसहित प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका थिए ।
आजको बैठकमापनि जनता समाजवादी पार्टी (जसपा) नेपाल सहित प्रमुख प्रतिपक्षमा रहेका ६ दलका सांसदले अर्थमन्त्रीको राजीनामा माग गर्दै बैठक बहिष्कार गरेका थिए । जनता समाजवादी पार्टी नेपालका सांसद एवं पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले सरकारले प्रदेशसभामा प्रस्तुत गरेको रेडबुक, सांसदलाई वितरण गरेको रेडबुक र सूचना प्रणालीमा लक भएको रेडबुकमा फरक देखिएको भन्दै आर्थिक अपराधको संज्ञा दिएका थिए ।
सरकारले ४६१ पृष्ठको रेडबुक संसद्मा प्रस्तुत गरी सांसदलाई वितरण गरेकोमा सूचना प्रणालीमा ७५५ पृष्ठको रेडबुक देखिएपछि उनले अर्थमन्त्री सुनिलकुमार यादवको राजीनामा माग गर्दै आजको बैठकबाट बाहिर निस्किएका थिए ।
प्रमुख प्रतिपक्ष बैठक बाट बाहिरिएपनि अर्थमन्त्री यादवले विनियोजन विधेयक, २०८२ पारित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाको बैठकमा पेश गरेपछि ध्वनि मतको आधारमा सर्व सम्मतिले पारित भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरेका थिए ।
मधेश प्रदेश सभामा १० दल रहेकोमा जनमत पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी सम्मिलित रहेको छ ।