
सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिका वडा नम्बर ४ टाकुरेमा गठन गरिएको टाकुरे जलवायु आदिवासी महिला समूहले आइतबार २६६८ वटा विभिन्न जातका बिरुवाहरू वितरण गरेको छ।
असार २९ गते सम्पन्न कार्यक्रममा समूहका ३० जना सदस्यहरूलाई फलफूल तथा बहुपयोगी बिरुवा—जस्तै टिमुर, सुन्तला, कागती, मेकडेमिएनट, जुनार, र दाते ओखर—वितरण गरिएको हो।
कार्यक्रम जलवायु अनुकूलन र महिला सशक्तीकरणका उद्देश्यसहित सञ्चालन गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी अध्यक्ष सुनी लामाले आदिवासी समुदायको समग्र विकासका लागि परम्परागत संस्कार-संस्कृतिको संरक्षण, शिक्षामा लगानी र रोजगारी सिर्जनाको आवश्यकतामाथि जोड दिइन्। उनले भनिन्, ‘हिजो र आजको विकासको अनुपात हेर्दा तामाङ समुदाय कहाँ छ, खोजी गर्नु आवश्यक छ।’
त्यस्तै, आदिवासी महिला उत्थान केन्द्र सिन्धुपाल्चोककी अध्यक्ष पानमाया तामाङले परियोजनाको जानकारी दिंदै भनिन्, ‘तीन वर्षे परियोजना अन्तर्गत इन्द्रावती र बलेफी गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ मा छ वटा समूह गठन गरिएको छ।’ उनका अनुसार, खोलाको किनार र डाँडामा बसोबास गर्ने आदिवासी समुदाय जलवायु परिवर्तनबाट बढी प्रभावित भएकाले वातावरण सुधारका लागि २६६८ बिरुवाको वितरण गरिएको हो।
उनले परियोजनाको लागत १ करोड १६ लाख रुपैयाँ रहेको जानकारी दिँदै बिरुवालाई सन्तानझैं माया गरेर हुर्काउन आग्रह गरिन्।
कार्यक्रममा इन्द्रावती गाउँपालिका उपाध्यक्ष शोभाना तामाङले महिलाहरूको सक्रियता र नेतृत्वप्रति प्रशंसा गर्दै भनिन्, ‘महिला भएर पनि तपाईंहरूले कार्यक्रम सफल बनाउनुभएको छ, जुन साँच्चिकै प्रशंसनीय छ।’ उनले यस्तो कार्यक्रमले महिला सशक्तीकरणमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरिन्।
वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले आफ्नो वडामा परियोजना सञ्चालन हुनु खुशीको कुरा भएको बताउँदै वितरण भएका बिरुवा मापदण्डअनुसार रोप्न र स्याहार गर्न आग्रह गरे। उनले बजार व्यवस्थापनदेखि अन्य आवश्यक क्षेत्रमा वडाको साथ रहने प्रतिबद्धता पनि जनाए।
कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी कोषाध्यक्ष सुशिला गोले, प्रोग्राम अफिसर अन्जु गुरुङ, सामाजिक परिचालक शिला तामाङ तथा समूहकी अध्यक्ष ज्ञानी तामाङको उपस्थिति रहेको थियो।